काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार गरी नेपाल फर्काइएको छ।
नेपाल–चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ। व्यापार, व्यवसाय, भ्रमण तथा पर्यटनलगायत विभिन्न कामका लागि केरुङ पुगेका नेपालीहरू भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि चीनतर्फ नै रोकिएका थिए।
चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौं पठाइएको हो।
स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई भदौ १८ गतेदेखि भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट नेपाल प्रवेश गराउन थालिएको थियो।
सशस्त्र प्रहरीका अनुसार भदौ १८ गते ११४ जना, १९ गते १५५ जना, २० गते ९६ जना, २१ गते १०५ जना, २२ गते १०६ जना र २३ गते ९४ जना गरी ६७० नेपाली नागरिक स्वदेश फर्किएका हुन्।
नागरिकको सुरक्षित उद्धार तथा सीमा क्षेत्रमा आवागमन सहजीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट तातोपानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भूपबहादुर बुढाथोकीको नेतृत्वमा १५ जनाको विशेष टोली निरन्तर परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले विपद्का कारण चीनमा अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धार तथा स्वदेश फिर्तीका लागि आवश्यक समन्वय र सहजीकरण भइरहेको जानकारी दिएका छन्।
उद्धार गरिएका नागरिकलाई स्थानीय तह तथा विभिन्न संघसंस्थासँगको समन्वयमा सवारीसाधनको व्यवस्था गरी काठमाडौं पठाउने गरिएको छ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र अरनिको यातायात प्रालिले यात्रुबाहक सवारीसाधन व्यवस्थापन गरी उद्धार गरिएका नेपालीलाई काठमाडौंसम्म पुर्याउने व्यवस्था मिलाएका छन्।
तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरलगायत आवश्यक विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाउने गरेको छ।
हाल तातोपानी भन्सार बन्द रहे पनि पर्यटकको आवागमनका लागि उक्त नाका खुला रहेको जनाइएको छ।
रसुवामा आएको बाढीका कारण ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक प्रभावित भएका थिए। बाढीपछि चीनतर्फ रोकिएका नेपालीलाई सुरक्षित रूपमा नेपाल फर्काउने प्रक्रिया अझै जारी रहेको प्रशासनले जनाएको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार चीनको ‘काउन्टर पार्ट’बाट प्राप्त जानकारीअनुसार केरुङ क्षेत्रमा करिब १७ सय नेपाली रहेको जानकारी आएको छ।
उनले भने, “उहाँहरूलाई तातोपानी नाका हुँदै सुरक्षित रूपमा काठमाडौंसम्म पुर्याइने छ। उहाँहरूको आउने क्रम जारी नै छ।”
चिनियाँ पक्षले सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली प्रशासनको जिम्मा लगाउने गरेको उनको भनाइ छ।
भोटेकोशी बाढीपछि अवरुद्ध भएको स्थलमार्गका कारण चीनतर्फ अलपत्र परेका नेपालीको उद्धार तथा स्वदेश फिर्तीमा नेपाल र चीनका सम्बन्धित निकायबीचको समन्वय महत्वपूर्ण देखिएको छ। उद्धार कार्यलाई निरन्तरता दिँदै बाँकी रहेका नेपालीलाई समेत क्रमशः सुरक्षित रूपमा स्वदेश फर्काउने तयारी भइरहेको प्रशासनले जनाएको छ।
प्रतिक्रिया