स्ट्रोक सचेतना कार्यक्रम सम्पन्न, समयमै उपचारका लागि समुदायस्तरमा सचेतना आवश्यक स्ट्रोकका लक्षण पहिचान, जोखिम न्यूनीकरण र समयमै उपचारबारे सहभागीलाई जानकारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०८३, सोमबार ०६:४३

काठमाडौं । नेपाल स्ट्रोक एसोसिएसनको आयोजना तथा बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ युवा परिषद्को सहकार्यमा आयोजित स्ट्रोक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा स्ट्रोकका प्रारम्भिक लक्षण पहिचान, जोखिम न्यूनीकरण तथा रोकथामका उपाय, समयमै उपचारको महत्व र स्वास्थ्यसम्बन्धी आवश्यक सचेतनाबारे सहभागीलाई जानकारी दिइएको थियो।

कार्यक्रममा बोल्दै बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष सुमन लामाले स्ट्रोकसम्बन्धी सचेतना समुदायको तल्लो तहसम्म पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए। उनले स्ट्रोकका लक्षण देखिएपछि ढिला नगरी स्वास्थ्य संस्थामा पुर्‍याउन सके जोखिम कम गर्न सकिने भएकाले नागरिकलाई यसबारे पर्याप्त जानकारी हुनुपर्ने धारणा राखे।

“स्ट्रोक जुनसुकै समयमा पनि हुन सक्छ। यसको लक्षण पहिचान गरेर तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउन सकियो भने ज्यान जोगाउन र दीर्घकालीन असर कम गर्न सकिन्छ। त्यसैले यस्ता सचेतनामूलक कार्यक्रम समुदायस्तरमा निरन्तर सञ्चालन गर्न आवश्यक छ,” अध्यक्ष लामाले भने।

त्यस्तै, बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले स्वस्थ नागरिक र स्वस्थ समुदाय निर्माणका लागि स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए।

उनले स्ट्रोकको जोखिम न्यूनीकरणका लागि खानपान, शारीरिक सक्रियता, नियमित स्वास्थ्य परीक्षण तथा जीवनशैलीमा ध्यान दिनुपर्नेमा जोड दिए। नगरप्रमुख अधिकारीले स्वास्थ्यसम्बन्धी यस्ता कार्यक्रमलाई स्थानीय तहसँगको सहकार्यमा थप प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए।

कार्यक्रममा स्ट्रोकका लक्षण देखिएमा तत्काल उपचारमा जानुपर्ने, उच्च रक्तचाप, मधुमेह, धूमपान तथा अस्वस्थ जीवनशैलीजस्ता जोखिम कारकबारे सचेत हुनुपर्ने विषयमा जानकारी दिइएको थियो।

स्ट्रोकसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै समुदायका नागरिकलाई समयमै स्वास्थ्य सेवा लिन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमले सहभागीहरूमा स्ट्रोकको जोखिम, लक्षण पहिचान तथा समयमै उपचारको महत्वबारे व्यवहारिक जानकारी प्रदान गर्नुका साथै समुदायस्तरमा स्वास्थ्य सचेतना विस्तार गर्न योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor