निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख ९१ हजार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०८३, शनिबार ०६:३१

काठमाडौं । निर्वाचन आयोगले देशभरका कुल १ करोड ९० लाख ९१ हजार ३७५ मतदाता कायम गर्दै अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले शुक्रबार असोज ३० गते अन्तिम नामावली प्रकाशन गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता रहेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तुलनामा यसपटक मतदाताको संख्या १ लाख ८७ हजार ६८६ ले बढेको छ। उक्त निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम थिए। त्यतिबेला ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता थिए।

आयोगले २०८२ चैत २२ गतेदेखि मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने, विवरण सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु भएका मतदाताको नाम हटाउने प्रक्रिया सञ्चालन गर्दै आएको थियो। यस क्रममा २०८३ भदौ १५ गतेसम्म नाम दर्ता गराएका र सोही मितिसम्म १८ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई समेटेर असोज १ गते प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको थियो।

प्रारम्भिक नामावलीमा १ करोड ९२ लाख ९४ हजार ९६१ मतदाता समावेश थिए। चैत २२ देखि भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका ४ लाख ३० हजार ३५२ जनाको नाम थपिएको थियो। तर, मृत्यु, दोहोरो नाम तथा नागरिकता त्याग वा रद्दलगायतका कारण ३९ हजार ८० जनाको नाम हटाइएको थियो।

प्रारम्भिक नामावलीमाथि प्राप्त दाबीविरोध तथा विवरण जाँचबुझ गर्ने क्रममा थप २ लाख ३ हजार ५८६ जनाको नाम हटाइएको आयोगले जनाएको छ। हटाइएकामध्ये मृत्यु भएका ४५ हजार ३२२ जना र दोहोरो नाम, नागरिकता त्याग वा रद्द तथा दाबीविरोधलगायतका कारण १ लाख ५८ हजार २६४ जना रहेका छन्।

आवश्यक जाँचबुझ, संशोधन र अद्यावधिक प्रक्रिया पूरा गरेपछि आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो।

आयोगले अन्तिम मतदाता नामावली आफ्नो आधिकारिक वेबसाइट www.election.gov.np मा उपलब्ध गराएको छ। साथै सातै प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र तथा स्थानीय तहअनुसारको मतदाता संख्यासम्बन्धी विवरणसमेत वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor