सरकारले माग्यो उच्च तहका आईटी विज्ञ, मासिक साढे २ लाख रुपैयाँसम्म पारिश्रमिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०८३, शनिबार ०६:२९

काठमाडौं । सरकारी सेवामा आकर्षक पारिश्रमिक खोजिरहेका सूचना प्रविधि क्षेत्रका जनशक्तिका लागि सरकारले उच्च पारिश्रमिकसहित विभिन्न प्राविधिक पदमा दरखास्त आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले प्रमुख प्रविधि विज्ञदेखि जुनियर डेभलपरसम्मका पदमा कर्मचारी माग गरेको हो।

केन्द्रले सरकारी निकायमा सफ्टवेयर प्रणाली निर्माण, स्तरोन्नति, सञ्चालन तथा साइबर सुरक्षा व्यवस्थापनलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न पदमा विज्ञापन खुलाएको जनाएको छ। असोज २९ गते प्रकाशित सूचनाअनुसार इच्छुक नेपाली नागरिकले कात्तिक १८ गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

विज्ञापनअनुसार सबैभन्दा बढी पारिश्रमिक प्रमुख प्रविधि विज्ञ पदका लागि निर्धारण गरिएको छ। सूचना प्रविधिमा स्नातकोत्तर उत्तीर्ण गरी प्रविधि संरचना, रणनीति तथा सुशासनसम्बन्धी अनुभव भएका उम्मेदवारले मासिक २ लाख ५० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्।

त्यस्तै, प्रोजेक्ट म्यानेजरका दुई पदसहित प्रोजेक्ट तथा बिजनेस एनालिसिस, सफ्टवेयर इन्जिनियरिङ, क्वालिटी एनालिसिस र इन्फ्रास्ट्रक्चर तथा अपरेसन्स क्षेत्रका सेक्टर प्रमुख पदमा मासिक २ लाख रुपैयाँ पारिश्रमिक तोकिएको छ। यी पदमा आवश्यक शैक्षिक योग्यता र अनुभव विज्ञापनमा उल्लेख भएबमोजिम हुनुपर्नेछ।

अन्य प्राविधिक पदमा पनि आकर्षक पारिश्रमिक निर्धारण गरिएको छ। चार जना सिस्टम एनालिस्टका लागि मासिक १ लाख ६० हजार रुपैयाँ, तीन जना सिनियर डेभलपर र दुई जना सिस्टम, नेटवर्क तथा डाटाबेस एडमिनिस्ट्रेटरका लागि मासिक १ लाख ४० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ।

यसैगरी, १५ जना मध्यम तहका डेभलपरका लागि मासिक १ लाख २५ हजार रुपैयाँ, दुई जना साइबर सुरक्षा विज्ञका लागि १ लाख १० हजार रुपैयाँ तथा दुई जना क्वालिटी एनालिस्ट र दुई जना यूआई/यूएक्स डिजाइनरका लागि मासिक ९० हजार रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ।

केन्द्रले तीन जना जुनियर डेभलपरका लागि मासिक ४८ हजार रुपैयाँ र दुई जना टेक सपोर्ट कर्मचारीका लागि मासिक ४० हजार रुपैयाँ पारिश्रमिक दिने गरी आवेदन माग गरेको छ।

इच्छुक उम्मेदवारले अद्यावधिक बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र तथा कार्यअनुभवसम्बन्धी कागजातसहित केन्द्रको आधिकारिक वेबसाइट www.sdoc.gov.np मार्फत आवेदन दिन सक्नेछन्।

छनोट प्रक्रियाअन्तर्गत उच्च तहका पदका उम्मेदवारको शैक्षिक योग्यता, कार्यअनुभव, प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा मूल्याङ्कन गरिनेछ। अन्य पदका लागि शैक्षिक योग्यता र अनुभवसँगै प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता लिइने जनाइएको छ।

नियुक्त हुने विज्ञहरूको सेवा, सुविधा तथा करार सम्झौता सफ्टवेयर विकास तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०८३ बमोजिम हुने सूचनामा उल्लेख छ।

सरकारले उच्च दक्षतायुक्त प्राविधिक जनशक्ति भित्र्याएर सरकारी डिजिटल प्रणालीको विकास, सेवा प्रवाहको प्रभावकारिता र साइबर सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्यसहित यो भर्ना प्रक्रिया अघि बढाएको हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor