काठमाडौं । यस वर्षको बडादसैँ अवधिमा देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने र दसैँका अधिकांश दिन मौसम अनुकूल रहने विभागको पूर्वानुमान छ।
विभागका मौसमविद् डेभिड ढकालका अनुसार दसैँ अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने उनले बताए।
फूलपाती अर्थात् असोज ३१ गते देशका पहाडी भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने अन्य प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ।
फूलपातीका दिन हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ। रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
अष्टमी अर्थात् कात्तिक १ गते पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने अनुमान छ। यस दिन हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा, मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।
अष्टमीको राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।
कात्तिक २, ३ र ४ गते अर्थात् नवमीदेखि विजयादशमीसम्म पनि देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ।
यी दिनमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
समग्रमा यस वर्षको दसैँमा अधिकांश स्थानको मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा र हिमपातलाई ध्यान दिनुपर्नेछ। त्यस्तै, तराईका केही स्थानमा बिहानपख लाग्न सक्ने हुस्सु तथा कुहिरोले सडक यातायातमा असर पार्न सक्ने भएकाले यात्रा गर्नुअघि मौसमको अद्यावधिक सूचना हेर्न विभागले सुझाएको छ।
प्रतिक्रिया