गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न आग्रह गरेको छ।
प्रशासनले आइतबार सूचना जारी गर्दै पदयात्राको तयारीमा रहेका तथा हाल पदमार्गमै रहेका सबैलाई अर्को सूचना जारी नभएसम्म यात्रा रोक्न अनुरोध गरेको हो।
प्रशासनका अनुसार आइतबार बिहान करिब ३ः३० बजे चुमनुब्री गाउँपालिका–४, नामरुङस्थित थेराङ खोलामा आएको बाढीले दुईवटा पुल बगाएको छ।
बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नम्बर २ जोड्ने फलामे पुल तथा नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुंगे पुल बगाएको प्रशासनले जनाएको छ।
दुईवटा पुल बगेपछि मनास्लु तथा लार्केपास पदमार्गमा आवतजावत प्रभावित भएको छ। पदयात्राका क्रममा पुल तथा अन्य संरचना जोखिमपूर्ण हुन सक्ने भन्दै प्रशासनले तत्काल यात्रा नगर्न र नगराउन आग्रह गरेको हो।
प्रशासनले पदमार्ग क्षेत्रमा कुनै विपद् वा असामान्य अवस्था देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउनसमेत अनुरोध गरेको छ।
पुल पुनः सञ्चालनमा आएर पदमार्ग सुरक्षित रहेको सम्बन्धमा प्रशासनबाट अर्को सूचना जारी भएपछि मात्र पदयात्रा गर्न प्रशासनले आग्रह गरेको छ।
प्रतिक्रिया