भोटेकोशी बाढीको १२औँ दिन : १३ हजारभन्दा बढीको उद्धार, १ हजार ३४१ शव फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०८३, सोमबार ०५:५५

काठमाडौं। भोटेकोशी बाढी आएको १२औँ दिन पनि प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य जारी छ। बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक विस्थापित भएका छन्।

सरकारले खोजी, उद्धार तथा राहतका लागि उपलब्ध सम्पूर्ण साधन र स्रोत परिचालन गरेको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकाय उद्धार तथा राहतमा सक्रिय छन्।

हालसम्म बाढी प्रभावित क्षेत्रबाट १३ हजार १०४ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्। यद्यपि करिब एक हजार व्यक्ति अझै बेपत्ता रहेको अनुमान गरिएको छ। बेपत्तामध्ये ३५ देशका करिब ६०० विदेशी नागरिक रहेको बताइएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ३४१ वटा शव फेला परेका छन्। शवको पहिचानका लागि फरेन्सिक तथा डीएनए परीक्षणलाई तीव्र बनाइएको छ। भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीले नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेका छन्।

भारत, चीन, कोरिया र मलेसियाका उद्धार टोली परिचालन

खोजी तथा उद्धारका लागि भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोली नेपाली सेनासँग समन्वय गरी प्रभावित क्षेत्रमा खटिएका छन्। अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ड्रोन, लोड क्यारियर तथा अन्य उद्धार सामग्री पनि प्रयोग भइरहेको छ।

मलेसियाबाट नौ वटा उच्च क्षमताका ड्रोनसहित ११ सदस्यीय विशेष विपद् सहायता तथा उद्धार टोली नेपाल आइपुगेको छ।

परराष्ट्र मन्त्रालयले विदेशी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। राहत सामग्री र उद्धार टोली बोकेर आएका २६ वटा उडानको अनुमति तथा सहजीकरणसमेत गरिएको छ।

सडक र पुल पुनःस्थापनाको काम तीव्र

बाढीका कारण सडक, पुल, विद्युत् तथा दूरसञ्चार संरचनामा ठूलो क्षति पुगेपछि पुनःस्थापनाको काम पनि अघि बढाइएको छ।

नेपाली सेना र इन्जिनियर टोलीले तादी नदीमाथि अस्थायी पुल निर्माण गरी गल्छी–त्रिशूली सडक पुनःस्थापना गर्ने काम गरिरहेका छन्। त्रिशूलीको इन्द्रेणीघाट र देवीघाटमा एक–एक गरी दुई वटा तुइनसमेत सञ्चालनमा ल्याइएको छ।

प्रारम्भिक द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडीएनए) अनुसार करिब ७ हजार ५७० घरधुरीका ३२ हजार ९३३ जना प्रभावित भएका छन्।

बाढीले ४८ सरकारी कार्यालय, ५५ किलोमिटर सडक, ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुर्‍याएको प्रारम्भिक मूल्याङ्कनमा उल्लेख छ।

त्यस्तै, करिब १ हजार ८०६ हेक्टर कृषि भूमि, १३ जलविद्युत् आयोजना, एक सौर्य ऊर्जा प्लान्ट र दुई प्रसारण लाइनमा क्षति पुगेको छ। बाढीका कारण करिब ७८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको छ।

पुनर्निर्माणका लागि पीडीएनए अघि बढाइँदै

क्षतिको व्यापकता र परिमाणलाई ध्यानमा राख्दै पूर्ण क्षति मूल्याङ्कन तथा पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक लागत निर्धारण गर्न विपद्पश्चात आवश्यकता मूल्याङ्कन (पीडीएनए) पनि अघि बढाइएको छ।

यसैबीच, फरेन्सिक प्रक्रिया पूरा भएका बरामद शवको अस्थायी व्यवस्थापन सुरु गरिएको छ। यसबाट पछि शवको पहिचान गरी परिवारलाई अन्तिम संस्कारका लागि हस्तान्तरण गर्न सहज हुने अपेक्षा गरिएको छ।

बेपत्ता व्यक्तिका परिवारजनलाई काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। विदेशमा रहेका परिवारजनले सम्बन्धित देशमै डीएनए नमुना सङ्कलन गरी नेपाल पठाउन सक्ने व्यवस्था मिलाइएको छ।

तातोपानी नाकाबाट नेपाली स्वदेश फर्किँदै

बाढीबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन नेपाल सरकार र चीनस्थित नेपाली नियोगले चिनियाँ अधिकारीसँग समन्वय गरिरहेका छन्।

तातोपानी नाका हुँदै शनिबारसम्म ४३१ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् भने थप १०५ जना नेपाली फर्कने अपेक्षा गरिएको छ।

विदेशी नागरिकको खोजी तथा उद्धारमा समन्वय गर्न उपशिष्टाचार प्रमुख प्रेमराज गौतमलाई प्रभावित क्षेत्रस्थित अपरेसन सेन्टरमा परिचालन गरिएको छ।

भोटेकोशी बाढीबाट भएको क्षतिको पुनःस्थापना र प्रभावित नागरिकको व्यवस्थापनसँगै बेपत्ताको खोजी, शव पहिचान तथा पूर्वाधार पुनर्निर्माणलाई सरकारले समानान्तर रूपमा अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor