तीज भेटघाट तथा संस्कृति जगेर्ना कार्यक्रम भव्य रूपमा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०८३, सोमबार ०७:२८

काठमाडौं, महाराजगञ्ज । International Project Development Forum (IPDF) को कला, संस्कृति तथा मनोरञ्जन विभागको आयोजना तथा फिटनेस विभागको सहजीकरणमा तीज भेटघाट तथा संस्कृति जगेर्ना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

महाराजगञ्जस्थित Article Event मा आयोजित कार्यक्रममा IPDF का पदाधिकारी, विभागीय प्रमुख तथा संयोजक, अतिथि, कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तीज पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्दै कला, संस्कृति, महिला सशक्तीकरण, स्वास्थ्य, फिटनेस, सीप विकास तथा सामाजिक सहकार्यलाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा IPDF अध्यक्ष मुकुन्द ढुंगानाले संस्थाको उद्देश्य, गतिविधि तथा आगामी योजनाबारे जानकारी गराउँदै IPDF परियोजना विकास, लगानी र व्यावसायिक सहकार्यमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व, कला–संस्कृति संरक्षण, महिला उद्यमशीलता, स्वास्थ्य, योग, कृषि, सीप विकास तथा सामाजिक रूपान्तरणका क्षेत्रमा समेत सहकार्य गर्दै आएको बताए।

अध्यक्ष ढुंगानाले तीज नेपाली मौलिक संस्कृति, परम्परा, सामाजिक सद्भाव तथा महिला सम्मानसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै विकाससँगै कला, संस्कृति, संस्कार र मौलिक पहिचानको संरक्षण आवश्यक रहेको बताए। उनले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र पहिचानसँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

ढुंगानाले IPDF ले विपद्को समयमा समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गरे। नुवाकोटको बेत्रावती क्षेत्रमा आएको विनाशकारी बाढीका समयमा विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता, व्यवसायी तथा सहयोगी व्यक्तिहरूसँग समन्वय गरी प्रभावित नागरिकका लागि राहत तथा आवश्यक सहयोग पुर्‍याइएको उनले जानकारी दिए।

कार्यक्रममा IPDF का कला, संस्कृति तथा मनोरञ्जन विभाग प्रमुख एवं सभा अध्यक्ष पूर्णिमा कोइरालाले तीज नेपाली महिलाको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएको बताइन्। उनले आधुनिक जीवनशैलीसँगै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै IPDF ले यस्ता सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने बताइन्।

त्यस्तै, IPDF बोर्ड सदस्य तथा विशेष अतिथि कल्पना शर्माले तीज भेटघाटले विभिन्न क्षेत्रका महिला तथा व्यक्तित्वहरूबीच आत्मीयता, सहकार्य र सामाजिक सम्बन्धलाई थप बलियो बनाएको बताइन्। उनले महिला सहभागिता, नेतृत्व र उद्यमशीलता विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा राखिन्।

फिटनेस विभाग प्रमुख सोबिता धमालाले स्वस्थ जीवनशैलीका लागि नियमित व्यायाम, शारीरिक सक्रियता र सकारात्मक सोच आवश्यक रहेको बताइन्। उनले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फिटनेस तथा स्वास्थ्यसम्बन्धी गतिविधिलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउने बताइन्।

त्यसैगरी, सौन्दर्य तथा सीप विकास विभाग प्रमुख सुमित्रा रञ्जितले महिलालाई सीपसँग जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन्। उनले सौन्दर्य तथा सीप विकासका माध्यमबाट महिलालाई उद्यमशीलतातर्फ अघि बढाउन सकिने उल्लेख गर्दै सीपलाई रोजगारी तथा आयआर्जनसँग जोड्नुपर्ने बताइन्।

कार्यक्रममा कृषि विभाग प्रमुख केशव शर्माले कृषि क्षेत्रलाई आधुनिक प्रविधि, उद्यमशीलता र बजारसँग जोडेर अघि बढाउनुपर्ने बताए। कृषि क्षेत्र युवाका लागि रोजगारी तथा उद्यमको महत्वपूर्ण आधार बन्न सक्ने उल्लेख गर्दै उनले कृषि क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढाउन आवश्यक रहेको बताए।

कार्यक्रमको सञ्चालन माधुरी पौडेलले गरेकी थिइन्। कार्यक्रममा सहभागी अतिथि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले कार्यक्रम अत्यन्तै आत्मीय, मनोरञ्जनात्मक, सांस्कृतिक तथा सन्देशमूलक भएको प्रतिक्रिया दिएका थिए। तीजको मौलिक सांस्कृतिक पक्षलाई संरक्षण गर्दै विभिन्न क्षेत्रका व्यक्तिहरूलाई एउटै मञ्चमा जोड्नु कार्यक्रमको महत्वपूर्ण उपलब्धि भएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने सहभागीहरूलाई प्रोत्साहनस्वरूप विभिन्न उपहार तथा गिफ्ट ह्याम्परसमेत प्रदान गरिएको थियो। कलापवृक्षको तर्फबाट फिटनेस विभाग प्रमुख सोबिता धमालालाई विशेष गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

त्यस्तै, उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने ६ जना सहभागीका लागि IPDF को तर्फबाट उत्पला क्याफेको लन्च कुपन प्रदान गरिएको थियो। उक्त अवसरमा उत्पला क्याफेका सीईओ दीपक बोहराको तर्फबाट गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको थियो।

सौन्दर्यतर्फ उत्कृष्ट सहभागिता जनाउने २ जनाका लागि सौन्दर्य तथा सीप विकास विभाग प्रमुख सुमित्रा रञ्जितको तर्फबाट मेकअप तथा हेयर डिजाइनसम्बन्धी गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

कार्यक्रममा उपस्थित सहभागीहरूले IPDF को आयोजनामा सम्पन्न तीज भेटघाट तथा संस्कृति जगेर्ना कार्यक्रमले नेपाली मौलिक संस्कृति, महिला प्रतिभा, स्वास्थ्य, सौन्दर्य, सीप तथा सामाजिक सहकार्यलाई एउटै मञ्चमा जोड्न सफल भएको बताएका थिए। सहभागीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए।

IPDF ले आगामी दिनमा परियोजना विकास तथा लगानीका क्षेत्रसँगै सामाजिक उत्तरदायित्व, महिला उद्यमशीलता, कला–संस्कृति संरक्षण, स्वास्थ्य तथा फिटनेस, कृषि, सीप विकास र विपद्का समयमा मानवीय सहयोगका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।

कार्यक्रमको समापन गर्दै IPDF अध्यक्ष मुकुन्द ढुंगानाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, पदाधिकारी, विभागीय प्रमुख तथा संयोजक, कलाकार, सञ्चारकर्मी, सहयोगी संस्था तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गरे।

“विकास गरौँ, तर संस्कृति नबिर्सौँ। अघि बढौँ, तर आफ्नो पहिचान नछोडौँ। सफल बनौँ, तर समाजप्रतिको जिम्मेवारी पनि पूरा गरौँ” भन्ने सन्देशसहित तीज भेटघाट तथा संस्कृति जगेर्ना कार्यक्रम सम्पन्न भएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

slot gacor