राजमार्ग अवरुद्ध भए पनि तीन दिनमा काठमाडौं भित्रियो ८७ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर कुलेखानी–भीमफेदी मार्गबाट वैकल्पिक आपूर्ति, तीन दिनमा ८७ हजार ८७७ सिलिन्डर भित्रिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०८३, सोमबार ०६:०४

काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भए पनि पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको छ।

नेपाल आयल निगमका अनुसार भदौ १८ देखि २० गतेसम्म विभिन्न ग्यास कम्पनीका गरी ८७ हजार ८७७ सिलिन्डर काठमाडौं उपत्यकामा ल्याइएको हो।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर खण्डमा भदौ १४ गते पहिरो गएपछि सडक अवरुद्ध भएको थियो। मुख्य राजमार्ग बन्द भएपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौंको ग्यास आपूर्ति सहज बनाइरहेको जनाएको छ।

हाल कुलेखानी–भीमफेदी सडकमार्ग हुँदै काठमाडौं उपत्यकामा एलपी ग्यास भित्र्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

तीन दिनमा ८७ हजार ८७७ सिलिन्डर

निगमको तथ्यांकअनुसार भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ सिलिन्डर ग्यास काठमाडौं उपत्यका भित्रिएको छ।

यसअनुसार तीन दिनमा दैनिक औसत करिब २९ हजार २९२ सिलिन्डर ग्यास काठमाडौं पुगेको देखिन्छ।

सात जिल्लाबाट वैकल्पिक आपूर्ति

मुख्य राजमार्ग बन्द भएपछि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका सिलिन्डरलाई अन्य जिल्लामा रहेका उद्योगमार्फत रिफिल गराएर काठमाडौं ल्याउने व्यवस्था गरिएको छ।

निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा सिलिन्डर रिफिल गराई वैकल्पिक सडकमार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाइएको हो।

राजमार्ग अवरुद्ध हुँदा समेत वैकल्पिक मार्ग प्रयोग गरी आपूर्ति निरन्तर राखिएको निगमले जनाएको छ। यसबाट काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव हुन नदिन आपूर्ति व्यवस्थापनमा सहजता पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor