काठमाडौं । विपद्का बेला प्रभावकारी समन्वय गर्न नसकेको आरोपमा गृह मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नरेन्द्र परियारलाई हटाएको छ।
परियारलाई १० भदौमा आएको बाढीपछि खोजी, उद्धार तथा राहत कार्यमा अपेक्षित भूमिका निर्वाह गर्न नसकेको गुनासो आएपछि मन्त्रालयले जिम्मेवारीबाट हटाएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
परियार करिब दुई महिनाअघि मात्रै रसुवाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएर गएका थिए।
उनको स्थानमा गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत उपसचिव कमल पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ।
१० भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएपछि खोजी, उद्धार तथा राहत कार्य सञ्चालन भइरहेको छ। विपद्का बेला जिल्लास्थित सुरक्षा निकाय तथा स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न नसकेको गुनासोपछि सिडिओ परियारलाई हटाउने निर्णय गरिएको मन्त्रालयका अधिकारीले बताए।
नयाँ सिडिओ पाण्डेले अब जिल्लाको विपद् व्यवस्थापन, खोजी तथा उद्धार र राहत वितरणमा सम्बन्धित निकायबीच समन्वयको जिम्मेवारी सम्हाल्नेछन्।
प्रतिक्रिया