काठमाडौँ । रसुवास्थित २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र फसेका ती व्यक्ति चिनियाँ नागरिक रहेको पुष्टि गर्दै उद्धारपछिको तस्वीरसमेत सार्वजनिक गरेको छ। बाढीपछि सुरुङभित्र थुनिएका उनलाई नेपाली सेनाको टोलीले सुरक्षित रूपमा बाहिर ल्याएको हो।
अपर त्रिशूली–१ आयोजनाको निर्माण कार्य चिनियाँ ठेकेदार कम्पनीले गरिरहेको भएकाले उद्धार गरिएका व्यक्ति निर्माण कार्यमा संलग्न प्राविधिक वा कामदार हुनसक्ने अनुमान गरिएको छ।
यसअघि बिहीबार मात्रै माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जना नेपाली कामदार सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार गरिएको थियो।
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र अझै अन्य कामदार फसेको हुनसक्ने आशङ्कामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।
सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीले उपलब्ध प्रविधि र उपकरणको प्रयोग गर्दै जोखिमपूर्ण क्षेत्रमा समेत अभियान जारी राखेका छन्।
प्रतिक्रिया