जुम्ला । आवश्यक परिपक्वता र गुलियोपन भरिएसँगै जुम्लाका किसान यतिबेला स्याउ टिप्न व्यस्त छन्। बगैँचामा स्याउ पाक्न थालेपछि किसानलाई टिप्ने र बिक्री गर्ने चटारो बढेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लामा उत्पादित स्याउ किसानले घरमै औसत प्रतिकिलो ९० रुपैयाँमा बिक्री गरिरहेका छन्। स्थानीय व्यापारीले किसानका बगैँचाबाट स्याउ खरिद गरी सुर्खेत, नेपालगन्जलगायतका बजारमा लैजाने गरेका छन्।
चन्दननाथ नगरपालिका–८ का स्याउ व्यापारी लछी भण्डारीका अनुसार व्यापारीले किसानका बगैँचामै पुगेर स्याउ खरिद गर्न थालेका छन्। उनका अनुसार हालसम्म करिब ९१ क्विन्टल स्याउ खरिद भइसकेको छ भने थप ९०० कार्टुन स्याउ खरिदका लागि बगैँचामा पुगिएको छ।
तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा ७ हजार १४० रोपनी क्षेत्रफलमा ५२ किसानले सामूहिक स्याउखेती गरेका छन्। यस वर्ष मात्रै करिब ६ हजार ५०० बिरुवाले फल दिन थालेका छन्। उक्त बगैँचामा करिब ३४ देखि ३५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ।
सो बगैँचाबाट मात्रै करिब ३० लाख रुपैयाँ बराबरको स्याउ बिक्री हुने अनुमान गरिएको छ। जिल्लाभर व्यापारीले हाल औसत प्रतिकिलो ९० रुपैयाँमा स्याउ खरिद गरिरहेको अधिकारीले बताए।
जिल्लाबाट बाहिरिने स्याउको यकिन तथ्याङ्क संकलनका लागि जुम्ला–कालीकोट सीमास्थित नाग्म प्रहरी चौकीलाई अभिलेख राख्ने जिम्मेवारी दिइएको कृषि विकास कार्यालयले जनाएको छ। हालसम्म जिल्लामा उत्पादित स्याउमध्ये करिब ३० प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भइसकेको अनुमान छ।
गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन केही घट्ने अनुमान गरिएको छ। यद्यपि यकिन तथ्याङ्क आउन केही समय लाग्ने कृषि विकास कार्यालयले जनाएको छ। किसानलाई स्याउ खेती विस्तारका लागि ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराउँदै आएको कार्यालयको भनाइ छ।
गोल्डेन जातको स्याउ असोज लागेपछि राम्रोसँग पाक्ने भएकाले अहिले मुख्यतः स्थानीय जातका स्याउ बिक्री भइरहेका छन्। सडक सञ्जालसँग जोडिएका बगैँचाबाट स्याउ संकलन गरी व्यापारीले तराईका विभिन्न जिल्लामा बिक्रीका लागि लैजान थालेका छन्।
जुम्लामा हाल करिब ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती हुँदै आएको छ। चालु आर्थिक वर्षमा थप २ हजार १६० रोपनी क्षेत्रमा स्याउखेती विस्तार गर्ने लक्ष्य राखिएको छ। जिल्लामा स्थानीय जुम्ली स्याउसँगै इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको समेत खेती हुँदै आएको छ।
प्रतिक्रिया