कात्तिक ८ काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारीसाधनको चाप बढ्न थालेको छ। दसैँको टीका तथा आशीर्वाद ग्रहण गरेर राजधानी फर्किने यात्रुको सङ्ख्या बढेसँगै विभिन्न सडकखण्डमा आवागमनको चाप देखिन थालेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको छ।
उपत्यकामा भित्रिने तथा बाहिरिने यात्रुको आवागमन सहज बनाउन ट्राफिक प्रहरीलाई सक्रिय रूपमा परिचालन गरिएको कार्यालयले जनाएको छ। उपत्यकाका प्रमुख नाकाहरूमा दैनिक निजी कार, जिप, मोटरसाइकल तथा सार्वजनिक सवारीसाधन गरी करिब एक हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेको जनाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष घटस्थापनादेखि कात्तिक ३ गतेसम्म दसैँ मनाउन पाँच लाख ७६ हजार ५७८ जना ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उपत्यकाबाट बाहिरिएका थिए।
प्रतिक्रिया