भोटेकोशी बाढीपछि उद्धार तथा शव पहिचानमा विदेशी विशेषज्ञको टोली सक्रिय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०८३, बिहीबार ०६:०८

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नदी किनारका जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको खोजी तथा शव पहिचानका लागि विभिन्न देशका विशेषज्ञ टोली नेपाली सुरक्षा निकायसँगको सहकार्यमा चौबीसै घण्टा परिचालित भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त टोलीसँगै विदेशी विशेषज्ञहरूले खोज तथा उद्धार र डीएनए प्रोफाइलिङको कामलाई तीव्रता दिएका छन्।

सुरुङभित्र ठूला ढुंगा तथा बाक्लो हिलो भरिएका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारतीय टोली लाङ्टाङ र चिलिमे क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा बाटो खोल्ने कार्यमा संलग्न छ। चिनियाँ टोलीले अपर त्रिशूली–३ ‘ए’ को सुरुङको केही भागसमेत खोलिसकेको छ।

त्यस्तै, कोरियाली टोली अपर त्रिशूली–१ को सुरुङमा उद्धार कार्यमा खटिएको छ। टोलीले थप उच्च प्रविधिका उपकरण र आवश्यक लजिस्टिक्ससमेत ल्याउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ।

डीएनए परीक्षणमा विदेशी फोरेन्सिक टोलीको सहयोग

बाढीमा फेला परेका शवको वैज्ञानिक पहिचानका लागि नेपाल प्रहरी अस्पताल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा डीएनए परीक्षण भइरहेको छ।

डीएनए परीक्षण प्रक्रियालाई तीव्र बनाउन भारतबाट १९ सदस्यीय फोरेन्सिक टोली तथा चीनबाट पाँच सदस्यीय विशेष टोली नेपाल आएर नमुना प्रशोधनमा सहभागी भइसकेका छन्।

यसैगरी, सिङ्गापुरबाट ६ सदस्यीय डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (डीभीआई) टोली काठमाडौं आइपुगेको छ। थप १३ जना विशेषज्ञ आवश्यक उपकरणसहित नेपाल आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। कोरियाली टोलीले उच्च क्षमताका ड्रोनलगायत अत्याधुनिक उपकरण प्रयोग गर्दै फोरेन्सिक तथा उद्धार कार्यमा सहयोग गरिरहेको छ।

१ हजार ११४ जनाको मृत्यु, ३ हजार ९०० बेपत्ता

मन्त्रालयका अनुसार हालसम्म बाढीमा परी १ हजार ११४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३ हजार ९०० जना अझै बेपत्ता छन्। सुरक्षा निकायले हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिसकेको जनाएको छ। उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार ३४ देशका करिब ५९० जना विदेशी नागरिक तथा चिनियाँ सीमातर्फ करिब १०० जना नेपाली नागरिक अझै बेपत्ता छन्।

नेपाल टेलिकमले प्रभावित क्षेत्रका आफ्ना सबै नेटवर्क पुनः सञ्चालनमा ल्याइसकेको छ। सञ्चार सेवा पुनः सञ्चालन भएपछि खोज, उद्धार तथा राहत कार्यको समन्वयमा थप सहजता भएको मन्त्रालयले जनाएको छ।

मानसरोवरका तीर्थयात्री र केरुङका नेपाली फर्काउने प्रयास

विपद्का बेला कैलाश मानसरोवर यात्रामा रहेका करिब ३ हजार तीर्थयात्रीमध्ये २ हजार ५०० जना हिल्सा र तातोपानी हुँदै नेपाल फर्किसकेका छन्। बाँकीलाई ल्हासाबाट हवाईमार्ग तथा अन्य नाकाबाट स्वदेश फर्काउन सहजीकरण भइरहेको छ।

त्यस्तै, केरुङमा रहेका करिब १ हजार ५०० नेपाली नागरिक तथा १७६ वटा नेपाली ट्रक–कन्टेनरलाई सीमा नाकामार्फत नेपाल ल्याउन चिनियाँ अधिकारीहरूसँग कूटनीतिक समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विपद्पछिको खोज, उद्धार र पहिचान कार्यमा नेपाली सुरक्षा निकायसँगै भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विशेषज्ञ टोली परिचालन भएपछि सुरुङभित्र फसेका तथा बेपत्ता नागरिकको खोजी र शव पहिचान प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor