बाढी प्रभावित क्षेत्रमा पेट्रोलियम र ग्यास आपूर्ति निरन्तर, २४ हजार ५ सय सिलिन्डर ल्याइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०८३, शुक्रबार ०५:५५

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा उद्धार तथा राहत कार्यलाई सहज बनाउन नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति तथा वितरणलाई निरन्तरता दिएको जनाएको छ।

भदौ १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड कटान गरेपछि सडक अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर तथा ग्यास बुलेट आउन नसक्ने अवस्था सिर्जना भएको निगमले जनाएको छ। त्यसपछि काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ हुँदै वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ र ग्यास आपूर्ति भइरहेको छ।

निगमका अनुसार काठमाडौं उपत्यकाका लागि आज विभिन्न ब्रान्डका करिब २४ हजार ५०० ग्यास सिलिन्डर ल्याउने व्यवस्था गरिएको छ। भोलिदेखि थप परिमाणमा ग्यास नियमित रूपमा ल्याउने तयारी गरिएको छ। तराईका ग्यास उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै उपत्यकामा ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका हेलिकप्टरका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सैनिक ब्यारेकबाट हवाई इन्धन भर्ने व्यवस्था गरिएको छ। निगमका अनुसार भदौ १० गतेदेखि हालसम्म हेलिकप्टरका लागि १ लाख २ हजार लिटर हवाई इन्धन पठाइसकिएको छ। त्यहाँबाट नियमित रूपमा इन्धन भर्ने काम भइरहेको छ।

त्यस्तै, निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पलाई हालसम्म १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २ हजार लिटर डिजेल उपलब्ध गराइएको छ। उद्धार तथा राहत कार्यलाई सहज बनाउन सार्वजनिक बिदाका दिनसमेत मागअनुसार पेट्रोल र डिजेल बिक्री–वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ।

बाढीबाट उद्धार गरी प्रभावित क्षेत्रका विभिन्न आश्रयस्थलमा राखिएका व्यक्तिका लागि आवश्यक खाना पकाउने ग्याससमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका लागि ५०० थान ग्यास सिलिन्डर पठाउने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

बाढीका कारण मुख्य सडकमार्ग अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग गरी पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति कायम राखिएको निगमको भनाइ छ। यसबाट उद्धार तथा राहत कार्यसँगै प्रभावित क्षेत्रका सर्वसाधारणलाई आवश्यक इन्धन तथा खाना पकाउने ग्यासको उपलब्धता सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor