सडक क्षेत्राधिकारका रुख काटेर ८१ लाखको काठ हिनामिना, डिभिजन प्रमुखसहित नौविरुद्ध भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०८३, शुक्रबार ०६:०४

काठमाडौं । सडक क्षेत्राधिकारभित्र रहेका रुख अवैध रूपमा कटान गरी ८१ लाख रुपैयाँभन्दा बढीको हानि–नोक्सानी पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जयसवालसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार दाङको राप्ती गाउँपालिका–१ पाखापानीदेखि लमही नगरपालिका–४ अर्नहवासम्म राजमार्गका दुवै किनारमा रहेका २ हजार ७२४ वटा रुख विनाइजाजत कटान गरी ओसारपसार गरिएको थियो। ती रुखबाट करिब ४० हजार ५५५ घनफिट काठ निकालिएको र त्यसबाट राज्यलाई ८१ लाख ३७ हजार ९ सय रुपैयाँ हानि–नोक्सानी भएको दाबी अख्तियारको छ।

यस प्रकरणमा सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जयसवालसहित डिभिजन वन कार्यालय देउखुरीका तत्कालीन वन अधिकृत राजु क्षेत्रीलाई प्रतिवादी बनाइएको छ।

त्यस्तै, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, राप्ती गाउँपालिका–१ का वडाध्यक्ष गेमे खड्का र वडा नम्बर ४ का वडाध्यक्ष वीरबहादुर चौधरीलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

मुद्दामा राप्ती गाउँपालिका–४ का अभिमान चौधरी, वडा नम्बर २ का झविन्द्रप्रसाद भण्डारी, नन्दु गिरी तथा लमही नगरपालिका–२ का केशरबहादुर चौधरीलाई समेत प्रतिवादी बनाइएको छ।

अख्तियारले प्रतिवादीहरूले आपसी मिलेमतोमा सडक क्षेत्राधिकारभित्रका रुख विनाइजाजत कटान तथा ओसारपसार गरी सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएको आरोप लगाएको छ।

आयोगले उनीहरूविरुद्ध बिगो रकम असुलउपर गरी कानुनबमोजिम कारबाहीको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor