काठमाडौं । महिलाको जीवनमा निश्चित उमेरपछि महिनावारी रोकिनु अर्थात् मेनोपज स्वाभाविक शारीरिक प्रक्रिया हो। सामान्यतया लगातार १२ महिनासम्म महिनावारी नभएपछि मेनोपज भएको मानिन्छ। नेपाली महिलामा औसत करिब ५० वर्षको उमेरमा मेनोपज हुने गरेको स्त्रीरोग विशेषज्ञहरू बताउँछन्।
अप्रेसन गरेर डिम्बाशय निकालिएका महिलामा भने प्राकृतिक अवस्थाभन्दा कम उमेरमै मेनोपज हुन सक्छ। मेनोपजका क्रममा शरीरमा हर्मोनको मात्रा घट्दा विभिन्न शारीरिक तथा मानसिक परिवर्तन देखिन सक्छन्।
विशेषज्ञका अनुसार मेनोपजका बेला अत्यधिक पसिना आउने, निद्रा नलाग्ने, स्वभावमा परिवर्तन आउने, योनी सुख्खा हुने, पिसाब रोक्न कठिन हुने, यौन चाहनामा कमी आउने, गोप्य अंग पोल्ने वा दुख्ने, रिंगाटा लाग्ने तथा हिँड्दा सन्तुलन बिग्रिनेजस्ता समस्या देखिन सक्छन्।
कतिपय महिलामा हर्मोनको मात्रा उल्लेख्य रूपमा कम हुँदा छाला चाउरिने तथा कपाल झर्नेजस्ता समस्या पनि देखिन सक्छन्।
विशेषज्ञका अनुसार मेनोपजका लागि पूर्वतयारी र सकारात्मक सोच महत्वपूर्ण हुन्छ। निश्चित उमेरपछि महिनावारी रोकिन्छ र जीवनमा केही शारीरिक तथा मानसिक परिवर्तन आउन सक्छन् भन्ने विषयमा महिलाहरू मानसिक रूपमा तयार हुनुपर्छ।
नियमित शारीरिक व्यायाम गर्ने, आफूलाई मन पर्ने काममा व्यस्त रहने र सकारात्मक सोच राख्ने हो भने मेनोपजका कतिपय लक्षणलाई सहज रूपमा व्यवस्थापन गर्न सकिने विशेषज्ञको सुझाव छ।
खानपानमा पनि विशेष ध्यान दिन आवश्यक हुन्छ। धेरै गुलियो तथा चिल्लो खानेकुरा कम गर्ने, भटमासबाट बनेका परिकार, सागपात तथा पौष्टिक खानेकुरा खाने, पर्याप्त पानी पिउने र दूध सेवन गर्ने बानीले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।
मेनोपजका क्रममा महिलाको स्वभावमा समेत परिवर्तन आउन सक्छ। चिन्ता गर्ने, रिसाउने, झर्किने, रुने वा कराउनेजस्ता व्यवहार देखिन सक्ने भएकाले परिवारका सदस्यले यसलाई नकारात्मक रूपमा लिन नहुने विशेषज्ञ बताउँछन्।
विशेषगरी श्रीमान्ले महिनावारी सुक्ने अवस्था महिलाले चाहेर नभई स्वाभाविक रूपमा हुने प्रक्रिया हो भन्ने बुझ्नुपर्ने हुन्छ। यो समयमा महिलाको यौन चाहना तथा यौनसम्पर्कप्रतिको सहजतामा समेत परिवर्तन आउन सक्ने भएकाले मानसिक सान्त्वना, हौसला र पारिवारिक सहयोग आवश्यक हुन्छ।
मेनोपज आफैँमा रोग नभएकाले प्रत्येक महिलालाई औषधि आवश्यक नपर्ने विशेषज्ञको भनाइ छ। तर मेनोपजका लक्षणले दैनिक जीवनमा नै असर पार्न थालेमा चिकित्सकको सल्लाहमा उपचारबाट राहत पाउन सकिन्छ।
हर्मोन रिप्लेसमेन्ट थेरापीले हट फ्ल्यास, राति अत्यधिक पसिना आउनेलगायत केही लक्षणमा प्रभावकारी राहत दिन सक्ने भए पनि यो सबै महिलाका लागि उपयुक्त हुँदैन। त्यसैले आफ्नो स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे चिकित्सकसँग परामर्श गरेर मात्र यस्तो उपचार लिनुपर्ने हुन्छ।
मेनोपजका कारण समस्या अत्यधिक बढेर दैनिक जीवनयापनमै असर पर्न थालेमा स्त्रीरोग विशेषज्ञ वा सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न विशेषज्ञले सुझाव दिएका छन्।
यस विषयमा महिला स्वयं मात्र नभई परिवार, स्वास्थ्य संस्था, चिकित्सक, सञ्चारमाध्यम, सामाजिक कार्यकर्ता तथा राज्यका सम्बन्धित निकायले समेत जनचेतना अभिवृद्धिमा भूमिका खेल्नुपर्ने विशेषज्ञको भनाइ छ।
मेनोपज प्राकृतिक प्रक्रिया भए पनि यससँग जोडिएका समस्या लुकाउने वा सहेर बस्ने विषय नभएको र आवश्यक परे उपचारका विभिन्न विकल्प उपलब्ध रहेको सन्देश समाजमा पुर्याउनुपर्नेमा विशेषज्ञले जोड दिएका छन्।
– गौतम, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
प्रतिक्रिया