भोटेकोशी बाढीमा सुरुङभित्र फसेकाको उद्धारमा सम्पूर्ण शक्ति लगाइएको छ : गृहमन्त्री गुरुङ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०८३, बुधबार ०५:५३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति र क्षमता परिचालन गरिरहेको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले सुरुङ क्षेत्रमा फसेका नागरिकको खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको बताउँदै आशा नमार्न आग्रह गरे।

उनका अनुसार सुरुङको माथिल्लो भाग पत्ता लगाएर उद्धारको प्रयास भइरहेको छ। राज्य आफ्नो जिम्मेवारीबाट कुनै पनि हालतमा पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै उनले उपलब्ध सबै सुरक्षा संयन्त्रलाई खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिए।

उद्धारका क्रममा विभिन्न चुनौती सामना गर्नुपरेको उनले बताए। त्रिशूली–३ ‘ए’ आयोजनामा खोजीका क्रममा बाक्लो दलदलका कारण एक्साभेटरसमेत डुबेको उल्लेख गर्दै उनले अहिले सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’ सम्म पुग्न सफलता मिलेको जानकारी दिए।

विद्युत् गृहको माथिल्लो भागबाट खनेर सुरुङभित्र प्रवेश गर्ने विकल्पमा समेत काम भइरहेको गृहमन्त्री गुरुङले बताए। विभिन्न सुरुङमा ड्रोन पठाएर अवस्थाको जानकारी लिने प्रयास भइरहेको उनको भनाइ छ।

खोज तथा उद्धारका लागि सरकारले विदेशी सहयोग लिन नचाहेको भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै उनले आवश्यकताअनुसार सबै सम्भावित स्रोत र प्रविधिको प्रयोग भइरहेको बताए।

सुरुङभित्र रहेका नागरिक पानी खाएर भए पनि जीवितै रहेको हुनसक्ने आशा राख्दै उद्धार अभियानलाई निरन्तरता दिइएको गृहमन्त्री गुरुङले बताए।

यसैबीच, विपद्पछिको खोज, उद्धार तथा राहतका लागि राज्यका उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग भइरहेको उनले जानकारी दिए।

बाढी प्रभावित क्षेत्रमा बिहान ९ बजेर १५ मिनेटमा पूर्वसूचनासहितको एसएमएस पठाइएको र त्यसलगत्तै सुरक्षाकर्मीले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान माइकिङ गरेको पनि गृहमन्त्री गुरुङले बताए।

प्रतिक्रिया

slot gacor