काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफ्ना प्रियजनको खोजीमा आफन्तहरू महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुग्न थालेका छन्।
आफन्त भेटिने आशा बोकेर अस्पताल पुगेका परिवारजनले बेपत्ता व्यक्तिको तस्बिर, नाम, ठेगाना तथा पहिचान खुल्ने विवरण अस्पतालका भित्तामा टाँसेका छन्। अहिले टिचिङ अस्पतालका भित्ताहरूमा टाँसिएका ती तस्बिरहरूले बाढीपछि हराएका मानिसको खोजीमा परिवारले गरिरहेको संघर्ष र पीडाको मार्मिक तस्वीर देखाइरहेका छन्।
कसैका आमा–बुवा, कसैका छोराछोरी, कसैका श्रीमान्–श्रीमती त कसैका दाजुभाइ र साथी अझै फर्किएका छैनन्। फोनको घण्टी बज्ला कि, कतैबाट ‘उहाँ भेटिनुभयो’ भन्ने खबर आउला कि भन्ने आशामा परिवारजन अस्पताल, उद्धार केन्द्र र सम्भावित स्थानहरू धाइरहेका छन्।
बाढीले धेरै परिवारलाई घरबार र आफन्तविहीन बनाएको छ। तर बेपत्ता भएकाहरूको परिवारका लागि भने खोजी अझै रोकिएको छैन, आशा अझै मरेको छैन।
टिचिङ अस्पतालका भित्तामा टाँसिएका प्रत्येक तस्बिर पछाडि एउटा परिवारको कथा छ—प्रतीक्षा, पीडा र आफ्ना प्रियजन सकुशल फर्किने आशा।
सम्बन्धित निकायले बेपत्ताको खोजी, शव पहिचान तथा अभिलेखीकरणको कामलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिएको छ। साथै, कसैले यी तस्बिरमा रहेका व्यक्तिहरूलाई देखेको वा उनीहरूबारे कुनै जानकारी पाएको भए तत्काल सम्बन्धित परिवार तथा सुरक्षा निकायलाई जानकारी गराउनु आवश्यक छ।
एउटा सानो सूचना पनि कुनै परिवारका लागि जीवनकै ठूलो खबर बन्न सक्छ।
प्रतिक्रिया