कात्तिक ८ काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमासँगै सकिँदैछ। दसैँको अन्तिम दिनका रूपमा मनाइने आजको दिन घरघरमा महालक्ष्मीको पूजा गर्ने र रातभर जाग्राम बस्ने चलन छ।
धार्मिक विश्वासअनुसार आज राति जाग्राम बसेर धनकी देवी महालक्ष्मीको पूजा गरे घरमा सुख, शान्ति र धनसम्पत्ति बढ्ने मान्यता छ।
विजयादशमीका दिनदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने क्रम आज समाप्त हुन्छ।
आज दसैँघरमा राखिएका फूलप्रसाद र जमराका बाँकी अंश नदी, पोखरी तथा अन्य तीर्थस्थलमा लगेर विसर्जन गर्ने चलन छ। यससँगै १५ दिनसम्म मनाइने बडादसैँको समापन हुन्छ।
दसैँ सकिएपछि भोलिदेखि कात्तिक स्नान र आकाशदीप बाल्ने परम्परा सुरु हुन्छ। कात्तिक शुक्ल पूर्णिमासम्म नदी वा अन्य पवित्र स्थलमा स्नान गर्ने र घरमा तुलसीको पूजा गर्ने चलन छ।
धार्मिक मान्यताअनुसार कात्तिक स्नान गर्नेहरूले मास, मुगी, मुसुरो, चना र भटमासजस्ता अन्न खानु हुँदैन भन्ने परम्परा पनि रहेको छ। कोजाग्रत पूर्णिमासँगै दसैँको बिदाइ हुँदै गर्दा नेपालीहरू अब तिहारलगायत आगामी चाडपर्वको तयारीमा जुट्नेछन्।
प्रतिक्रिया