काठमाडौं । रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै चन्द्रागिरि डिजिटल प्रिन्ट प्रा.लि. ले राहत सहयोगका लागि मानवीय अभियान सुरु गरेको छ।
कम्पनीले आगामी एक सातासम्म, २०८३ भदौ १४ गतेदेखि २० गतेसम्म, पासपोर्ट फोटो खिच्ने तथा प्रिन्ट गर्ने सेवाबाट प्राप्त हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको हो।
बाढीका कारण धेरै परिवारले आफन्त गुमाएका छन् भने ठूलो संख्यामा नागरिक घरबारविहीन भएका छन्। स्थानीय व्यवसाय, सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको अवस्थामा राज्यसँगै निजी क्षेत्र, व्यवसायी र सर्वसाधारणले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उद्देश्यले अभियान सुरु गरिएको चन्द्रागिरि डिजिटल प्रिन्टले जनाएको छ।
यस अभियानलाई अझ पारदर्शी र सहभागितामूलक बनाउन ग्राहकले पासपोर्ट फोटो खिचाउने वा प्रिन्ट गर्ने सेवाबापतको रकम चन्द्रागिरि डिजिटल प्रिन्टलाई नदिई सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
ग्राहकले सेवा लिएपछि प्राप्त बिलमा उल्लेखित रकम राहत कोषमा जम्मा गरी त्यसको प्रमाण उपलब्ध गराउन सक्नेछन्।
यसबाट व्यवसायीको मात्र नभई प्रत्येक ग्राहकको सानो सहयोग पनि बाढीपीडित नागरिकसम्म पुर्याउने अभियानको हिस्सा बन्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
चन्द्रागिरि डिजिटल प्रिन्टले विपद्को समयमा सहयोग गर्न ठूलो संस्था वा ठूलो बजेट नै आवश्यक नहुने बताएको छ। दैनिक व्यवसायबाट हुने सानो आम्दानीको केही हिस्सा पनि पीडित नागरिकका लागि महत्वपूर्ण सहयोग बन्न सक्ने कम्पनीको भनाइ छ।
कम्पनीले भनेको छ, “हामीले गर्ने सहयोग सानो हुन सक्छ, तर विपद्को समयमा सानो सहयोगले पनि ठूलो अर्थ राख्छ। व्यवसायबाट हुने आम्दानीको एउटा हिस्सा देश र नागरिकका लागि समर्पित गर्ने उद्देश्यले यो अभियान सुरु गरेका हौं।”
कम्पनीले अन्य व्यवसायी, स्वरोजगार व्यक्ति तथा सर्वसाधारणलाई पनि आफ्नो क्षमता र परिस्थितिअनुसार बाढीपीडितको राहत तथा उद्धार अभियानमा सहभागी हुन आग्रह गरेको छ।
चन्द्रागिरि डिजिटल प्रिन्टले अभियानको सन्देशका रूपमा भनेको छ— “फोटो खिचौं, सहयोग पनि गरौं।” “तपाईंको एउटा पासपोर्ट फोटो—बाढीपीडितका लागि एउटा सानो सहयोग।”
विपद्को पीडामा परेका नागरिकलाई सम्झिँदै निजी क्षेत्रबाट सुरु गरिएको यो अभियानले सानो सहयोग पनि मानवीय संवेदनाको ठूलो उदाहरण बन्न सक्छ भन्ने सन्देश दिएको छ।
प्रतिक्रिया