काठमाडौं । रसुवाको टिमुरे बजार तथा टिमुरे भन्सार कार्यालय क्षेत्रमा गत भाद्र १० गते आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई प्रभावकारी बनाउन भन्सार क्षेत्रमा जडान गरिएका सिसिटिभी फुटेज तत्काल सुरक्षित गरी अनुसन्धान गर्नुपर्ने माग उठेको छ।
चीनको तिब्बततर्फबाट आएको बाढीका कारण भोटेकोशी र अङ्खु खोलामा आएको विनाशकारी बाढीले टिमुरे क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीपछि कतिपय व्यक्ति बेपत्ता रहेकाले उनीहरूको अवस्था अझै यकिन हुन नसक्दा परिवारजन गहिरो पीडा, अन्योल र छटपटीमा छन्।
पीडित पक्षका तर्फबाट अम्बरबहादुर श्रेष्ठ ‘उमेश’ ले टिमुरे भन्सार कार्यालय र आसपासमा रहेका सिसिटिभी क्यामेराको बाढी आउनुअघिको र बाढी आएको समय आसपासको फुटेज तत्काल सुरक्षित गरी प्राविधिक अनुसन्धान गर्नुपर्ने बताएका छन्।
श्रेष्ठका अनुसार सिसिटिभी फुटेजले बाढीको समयमा बेपत्ता भएका व्यक्तिहरू कुन स्थानमा थिए, बाढीको बहावले उनीहरूलाई कुन दिशातर्फ बगायो र त्यसपछि सम्भावित रूपमा कहाँ पुगेका हुन सक्छन् भन्ने विषयमा महत्वपूर्ण सुराक दिन सक्छ।
“टिमुरे भन्सारको अन्तिम सिसिटिभी फुटेज अनुसन्धान गरेर उद्धार कार्यमा प्रयोग गर्न सके बेपत्ता भएका व्यक्तिहरूको खोजीमा सन्तोषजनक उपलब्धि हासिल हुन सक्छ,” श्रेष्ठले भने।
उनले व्यापारिक तथा भौतिक क्षतिको लेखाजोखा पछि पनि गर्न सकिने भन्दै अहिलेको पहिलो प्राथमिकता मानवीय जीवन र बेपत्ता व्यक्तिको खोजी हुनुपर्नेमा जोड दिएका छन्।
पीडित परिवारले गृह मन्त्रालय र भन्सार विभागसँग तत्काल समन्वय गरी टिमुरे भन्सार क्षेत्रका सिसिटिभी फुटेज सुरक्षित गर्न हिमालय सीमापार व्यापार संघ तथा उद्योग वाणिज्य संघलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
उनीहरूले बाढी आएको समयका सबै उपलब्ध सिसिटिभी फुटेजको प्राविधिक अध्ययन गरी बेपत्ता व्यक्तिहरूको सम्भावित अवस्थिति र बाढीको बहावबारे अनुसन्धान गर्न माग गरेका छन्।
आफ्ना आफन्तको अवस्था बुझ्न आतुर रहेका पीडित परिवार तथा उनीहरूका प्रतिनिधिलाई सुरक्षा निकायको रोहवरमा आवश्यक फुटेज अवलोकन गर्न वा त्यसबाट प्राप्त आधिकारिक जानकारी उपलब्ध गराउने व्यवस्था मिलाउनसमेत माग गरिएको छ।
पीडित पक्षले टिमुरे भन्सार परिसर तथा आसपासका क्षेत्रमा अड्किएका वा बगेका हुन सक्ने शवको सम्भावित स्थान पहिचान गर्न पनि सिसिटिभी फुटेज महत्वपूर्ण प्रमाण बन्न सक्ने बताएका छन्।
फुटेजबाट प्राप्त सूचनाका आधारमा खोजी क्षेत्रलाई साँघुरो बनाउँदै उद्धार तथा खोजी टोली परिचालन गर्न सके समय र स्रोतको प्रभावकारी उपयोग हुने उनीहरूको विश्वास छ। साथै, घाइतेहरूको अवस्थाबारे जानकारी प्राप्त भए तत्काल थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउन पनि त्यसबाट सहयोग पुग्ने बताइएको छ।
बाढीपछि आफन्तको अवस्थाबारे यकिन जानकारी नपाउँदा पीडित परिवारका लागि प्रत्येक दिन थप पीडादायी बन्दै गएको छ। आफ्ना प्रियजन बाढीमा परेपछि उनीहरू अन्तिम पटक कहाँ देखिएका थिए, कुन दिशातर्फ बगे र अहिले कहाँ हुन सक्छन् भन्ने प्रश्नको उत्तर खोजिरहेका छन्।
त्यसैले टिमुरे भन्सारको सिसिटिभी फुटेजलाई केवल सुरक्षा अभिलेखका रूपमा नभई बेपत्ता व्यक्तिको खोजीका लागि सम्भावित महत्वपूर्ण प्रमाण का रूपमा लिएर तत्काल अनुसन्धान गर्नुपर्ने माग गरिएको हो।
पीडित परिवारले सम्बन्धित निकायलाई ढिलाइ नगरी फुटेज सुरक्षित गर्न, प्राविधिक अनुसन्धान गर्न र त्यसबाट प्राप्त तथ्यलाई खोज तथा उद्धार अभियानमा प्रयोग गर्न आग्रह गरेका छन्।
“व्यापारिक क्षतिको हिसाब पछि पनि गर्न सकिन्छ, तर हराएका आफन्तको खोजीमा बितेको समय फेरि फर्किँदैन,” पीडित पक्षको आग्रह छ।
प्रतिक्रिया