काठमाडौं । तिब्बतबाट अचानक आएको भीषण बाढीले रसुवा र नुवाकोटका १३ वटा जलविद्युत् आयोजना प्रभावित तथा क्षतिग्रस्त भएका छन्। बाढीको प्रभाव सञ्चालनमा रहेका आयोजनादेखि निर्माणाधीन आयोजनासम्म परेको छ।
प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित १३ आयोजनामध्ये पाँच वटा निर्माणाधीन र आठ वटा सञ्चालनमा रहेका छन्। सञ्चालनमा रहेका आठ आयोजनाको कुल उत्पादन क्षमता ३५९ मेगावाट रहेको छ।
त्यसैगरी निर्माणाधीन पाँच आयोजनाको कुल क्षमता ३९४ मेगावाट रहेको छ। यसरी बाढीबाट प्रभावित तथा क्षतिग्रस्त आयोजनाको कुल क्षमता ७५३ मेगावाट पुगेको छ।
भीषण बाढीले जलविद्युत् आयोजनाका महत्वपूर्ण संरचनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन तथा निर्माण कार्य प्रभावित भएको छ। आयोजनाका बाँध, पावरहाउस, प्रसारण संरचना तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको जनाइएको छ।
बाढीको तीव्र बहावका कारण कतिपय आयोजनाका संरचना तथा पहुँचमार्गमा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ। क्षतिको यकिन विवरण स्थलगत निरीक्षण तथा प्राविधिक मूल्यांकनपछि मात्र स्पष्ट हुने सम्बन्धित निकायले जनाएको छ।
रसुवा र नुवाकोट नेपालका महत्वपूर्ण जलविद्युत् उत्पादन क्षेत्र हुन्। एकैपटक ठूलो संख्यामा जलविद्युत् आयोजना प्रभावित भएपछि यसले तत्कालीन विद्युत् उत्पादनसँगै निर्माणाधीन आयोजनाको समयतालिका, लागत र लगानीमा समेत असर पार्न सक्ने देखिएको छ।
विशेषगरी निर्माणाधीन आयोजनामा भएको क्षतिले निर्माण सम्पन्न हुने समय थप लम्बिन सक्ने तथा पुनःनिर्माणका लागि अतिरिक्त लगानी आवश्यक पर्ने अवस्था आउन सक्ने देखिन्छ।
सम्बन्धित निकायले बाढीबाट प्रभावित आयोजनाको स्थलगत निरीक्षण तथा क्षतिको प्राविधिक मूल्यांकन गर्ने तयारी अघि बढाएको छ। क्षतिको वास्तविक अवस्था पहिचान भएपछि पुनःनिर्माण, मर्मत तथा विद्युत् उत्पादन पुनः सञ्चालनका लागि आवश्यक कदम अघि बढाइनेछ।
बाढीबाट ऊर्जा क्षेत्रमा परेको क्षति केवल आयोजनाको भौतिक संरचनामा मात्र सीमित नभई विद्युत् उत्पादन, प्रसारण तथा भविष्यमा थपिने विद्युत् क्षमतामासमेत प्रभाव पार्ने भएकाले प्रभावित आयोजनाको पुनःस्थापना सरकार तथा सम्बन्धित क्षेत्रका लागि महत्वपूर्ण चुनौती बनेको छ।
प्रतिक्रिया