काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सरकारले प्रभावित नागरिकको उद्धार, घाइतेको उपचार, राहत तथा बेपत्ताको खोजीलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइते र उपचाररत नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्र बनाइएको उनले बताएका छन्।
बाढी आएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितका सुरक्षा निकायका हजारौँ जनशक्ति खोज तथा उद्धारमा परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
सुरक्षाकर्मीले हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिसकेको र घाइतेलाई तत्काल काठमाडौं ल्याएर उपचार भइरहेको उनले जानकारी दिएका छन्।
बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन हवाई तथा स्थलमार्गबाट उद्धार अभियानलाई निरन्तरता दिइएको छ। बेपत्ता नागरिकको खोजी तथा प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धारलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
घाइतेको निःशुल्क उपचारका लागि काठमाडौंका वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको प्रधानमन्त्री शाहले बताएका छन्। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिएका छन्।
प्रभावित क्षेत्रमा चिकित्सक, स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा आवश्यक स्वास्थ्य सामग्री पठाइएको छ। आपत्कालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन औषधि तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको जनाइएको छ।
रक्त अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स क्लब र नेपाल स्काउटलगायतका संस्थासँग समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
बाढीबाट रसुवासँगै नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रसमेत प्रभावित भएका छन्।
प्रधानमन्त्री शाहका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित क्षेत्रका रूपमा रहेका छन्।
ती क्षेत्रमा प्रभावित परिवारका लागि खानेकुरा, सुरक्षित खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल मिलाउने तयारी गरिएको छ।
बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने प्रधानमन्त्री शाहले बताएका छन्।
विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने तथा प्रभावित क्षेत्रमा आवश्यक आधारभूत सेवा पुनः सञ्चालन गर्ने सरकारको योजना रहेको उनले जानकारी दिएका छन्।
बाढीपछि बेपत्ता नागरिकको खोजी तथा प्रभावितको उद्धारका लागि रातभर पनि खोज तथा उद्धार कार्य जारी रहने प्रधानमन्त्री शाहले बताएका छन्।
बेपत्ता नागरिकको खोजी, घाइतेको विवरण संकलन तथा बाढीबाट भएको मानवीय र भौतिक क्षतिको विस्तृत विवरण तयार गर्ने कामसमेत निरन्तर अघि बढाइने जनाइएको छ।
प्रधानमन्त्री शाहले विपद्मा परेका नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै सरकार सम्पूर्ण साधन र स्रोतसहित प्रभावित नागरिकको साथमा रहेको बताएका छन्। उद्धार, उपचार, खानपिन तथा अस्थायी बसोबासको व्यवस्थापनमा सरकारले आवश्यक जिम्मेवारी लिने उनको भनाइ छ।
त्यस्तै, उनले विपद्को समयमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको उद्धार र राहत अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया