काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय क्षति भएको र खोजी तथा उद्धार कार्य जारी रहेका बेला नेपाल प्रहरीले क्षतिग्रस्त शव तथा बीभत्स तस्बिर सामाजिक सञ्जालमा जथाभावी पोस्ट नगर्न आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालय, नक्सालले बुधबार सूचना जारी गर्दै विपद्का समयमा क्षतिग्रस्त शव तथा बीभत्स तस्बिर सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दा सर्वसाधारणमा त्रास, मानसिक तनाव तथा अनावश्यक भय सिर्जना हुनसक्ने जनाएको हो।
विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै यस्ता सामग्रीको अनावश्यक प्रचार–प्रसार नगर्न तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न प्रहरीले सबैमा आग्रह गरेको छ।
भोटेकोशीमा आएको बाढीका कारण दर्जनौँ व्यक्ति अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढीमा फसेका तथा जोखिममा परेका नागरिकको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहकार्यमा अभियान जारी छ।
प्रतिकूल भौगोलिक अवस्था र बाढीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बने पनि सुरक्षाकर्मी तथा स्थानीयवासीले निरन्तर प्रयास गरिरहेका छन्।
प्रहरीले विपद्को समयमा अपुष्ट सूचना, अफवाह तथा संवेदनशील तस्बिर–भिडियो सम्प्रेषण नगर्न समेत आग्रह गरेको छ। गलत वा अपुष्ट सूचनाले पीडित परिवार तथा सर्वसाधारणमा थप तनाव र अन्योल सिर्जना गर्नसक्ने भएकाले आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र प्राथमिकता दिन प्रहरीले अनुरोध गरेको छ।
त्यस्तै, पीडित तथा मृतकका परिवारजनको संवेदनशीलतालाई सम्मान गर्दै मानवीय मर्यादा कायम राख्न पनि प्रहरीले आग्रह गरेको छ।
प्रहरीले विपद्को समयमा सामाजिक सञ्जाललाई त्रास फैलाउने माध्यम नभई उद्धार, राहत तथा आवश्यक सूचना प्रवाहमा सहयोगी माध्यमका रूपमा प्रयोग गर्न सबैलाई अपिल गरेको छ।
प्रतिक्रिया