काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले कक्षा १०+२ वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत नगरवासी विद्यार्थीलाई लक्षित गरी ३० घण्टे ‘Fundamental of Coding’ भर्चुअल (अनलाइन) तालिम सञ्चालन गर्ने भएको छ।
विद्यार्थीको फुर्सदको समयलाई सिर्जनात्मक तथा उत्पादनशील कार्यमा उपयोग गर्दै आधुनिक सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने तथा भविष्यमा रोजगारी र स्वरोजगारका अवसरसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ।
तालिममा बुढानीलकण्ठ नगरपालिकाभित्र बसोबास गर्ने कक्षा १०+२ वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरू सहभागी हुन सक्नेछन्।
नगरपालिकाले इच्छुक तथा योग्य विद्यार्थीलाई सूचना प्रकाशित भएको मिति २०८३ साल भदौ ८ गतेदेखि सात दिनभित्र अनलाइन आवेदन पेश गर्न अनुरोध गरेको छ।
आवेदनका लागि नगरपालिकाले उपलब्ध गराएको Google Form मार्फत फारम भर्न सकिनेछ। साथै, आधिकारिक सूचनामा राखिएको QR Code स्क्यान गरी समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
तालिमका माध्यमबाट विद्यार्थीहरूलाई Coding तथा सूचना प्रविधिको आधारभूत ज्ञान प्रदान गर्नुका साथै डिजिटल युगमा आवश्यक पर्ने प्राविधिक सीप विकासमा सहयोग पुग्ने नगरपालिकाको विश्वास छ।
नगरपालिकाका अनुसार प्रविधिमा आधारित ज्ञान र सीप आजको रोजगारी बजारमा महत्वपूर्ण बन्दै गएकाले विद्यार्थीलाई प्रारम्भिक चरणमै Coding तथा डिजिटल प्रविधिसँग परिचित गराउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो।
तालिम तथा आवेदनसम्बन्धी थप जानकारीका लागि बुढानीलकण्ठ नगरपालिकाको आधिकारिक वेबसाइट budhanilkanthamun.gov.np तथा [email protected] मा सम्पर्क गर्न सकिनेछ।
नगरपालिकाले इच्छुक विद्यार्थीलाई तोकिएको समयभित्र आवेदन दिई ‘Fundamental of Coding’ तालिमको अवसर सदुपयोग गर्न आग्रह गरेको छ।
प्रतिक्रिया