आलु बिक्रीको सुनिश्चिततापछि कञ्चनपुरका किसान खेती विस्तारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०८३, मंगलवार ०५:५५

कञ्चनपुर । आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान उत्साहित भएका छन्। कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा जिल्लाका किसान र फस्ट च्वाइस फुड्स लिमिटेडबीच ८० बिघा जमिनमा उत्पादन हुने आलु खरिद गर्ने सम्झौता भएपछि किसानले आलुखेती विस्तारको तयारी थालेका हुन्।

उत्पादित आलुको बजार सुनिश्चित भएपछि किसानलाई आलुखेती विस्तार गर्न हौसला मिलेको छ। बेदकोट नगरपालिका–५ धरमपुरका कलुवा कामी यसअघि दुई बिघा जमिनमा आलुखेती गर्दै आएका थिए। यस वर्ष उनले खेती विस्तार गरी पाँच बिघामा आलुखेती गर्ने तयारी गरेका छन्।

उत्पादनको बजार सुनिश्चित भएपछि खेती विस्तार गर्न लागेको कामीले बताए। विगतमा न्यून मूल्यमा आलु बिक्री गर्नुपर्ने र भण्डारणका लागि शीतभण्डारको समेत अभाव हुँदा समस्या हुने गरेको उनको भनाइ छ।

“अहिले ज्ञान केन्द्रको समन्वयमा उद्योगसँग सम्झौता भएपछि बजारको समस्या रहेन,” कामीले भने, “यसपटक पाँच बिघा जमिनमा आलुखेती गर्ने तयारीमा छु।”

उत्पादन भएको आलु किसानको खेतबाटै उठाउने सम्झौता भएकाले बजारको चिन्ता हटेको उनले बताए। उनका अनुसार बजार सुनिश्चित भएपछि व्यावसायिक रूपमा आलुखेती विस्तार गर्ने योजना बनेको हो।

त्यस्तै, शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका टीकाराम डगौरा पनि यस वर्ष आलुखेती विस्तार गर्ने तयारीमा छन्। गत वर्ष १२२ जना किसानको समूहमा १० बिघा जमिनमा आलुखेती गरेका डगौरा यस वर्ष २० बिघाभन्दा बढी क्षेत्रफलमा खेती गर्ने तयारीमा छन्।

“विगतमा आलु भण्डारण गर्न समस्या थियो र बजारमा न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो,” डगौराले भने, “आलु चिप्स कम्पनीसँग किसानको बारीमै पुगेर आलु खरिद गर्ने सम्झौता भएपछि अब बजारको समस्या अन्त्य भएको छ।”

उनका अनुसार बजारमा आलुको मूल्य कम भए पनि कम्पनीले किसानबाट बजार मूल्यभन्दा बढीमा आलु खरिद गर्ने सम्झौता गरेको छ। गत वर्ष थारु आलुले बजार नपाएको उनले बताए।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिप्रसाद पनेरुले सम्झौताअनुसार जिल्लाका किसानले उत्पादन गरेको आलु उद्योगले खरिद गर्ने जानकारी दिए।

“यहाँ आलु उत्पादन बढी हुन्छ। अब किसानले उत्पादन गरेको आलु बिक्रीका लागि बजार खोज्नुपर्ने समस्या हुँदैन,” पनेरुले भने, “सम्झौताअनुसार उद्योगले किसानको बारीमै पुगेर आलु खरिद गर्नेछ। यसले किसानलाई बजारको सुनिश्चितता गरेको छ।”

कृषि ज्ञान केन्द्रका अनुसार सम्झौतापछि उत्पादित आलु बिक्रीका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने र व्यावसायिक आलुखेतीमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लामा हाल करिब एक हजार ८०० हेक्टर जमिनमा आलुखेती हुँदै आएको छ। केन्द्रबाट प्रदान गरिने अनुदान तथा उत्पादित आलुको बिक्री सुनिश्चितताका कारण जिल्लामा आलुखेतीको क्षेत्रफल थप विस्तार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor