कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०८३, मंगलवार ०५:५१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेशसभामा भएको मत विभाजनमा कार्कीको पक्षमा ५७ मत परेको छ भने विपक्षमा २२ मत परेको छ। चार सांसद तटस्थ बसेका छन्।

९२ सदस्यीय कोशी प्रदेशसभाको आजको मतदानमा ८३ सांसद उपस्थित थिए। सरकार टिकाउन ४७ सांसदको समर्थन आवश्यक पर्नेमा मुख्यमन्त्री कार्कीले आवश्यकभन्दा १० मत बढी प्राप्त गरेका हुन्।

प्रदेशसभामा नेकपा (एमाले) का ४०, नेपाली कम्युनिष्ट पार्टीका १७, नेपाली कांग्रेसका २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र जनता समाजवादी पार्टी (जसपा) का एक सांसद छन्।

यसअघि नेपाली कांग्रेसले भदौ ३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको थियो। कांग्रेसले समर्थन फिर्ता लिए पनि एमालेले नेपाली कम्युनिष्ट पार्टीलाई सरकारमा सहभागी गराउँदै नयाँ सत्ता समीकरण बनाएको छ।

मुख्यमन्त्री कार्कीले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यसबेला प्रदेशसभामा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए।

त्यसपछि सत्ता समीकरण परिवर्तन भई एमाले र कांग्रेसबीच सहकार्य बनेपछि कार्कीले २०८१ असोज २ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला ८३ सांसद मतदानमा सहभागी भएकामा कार्कीको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो।

पछिल्लो पटक विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई निरन्तरता दिने बाटो खुलेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor