काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई बितेको ३५ वर्षको दोष खोज्नुभन्दा अबको ३५ वर्ष कस्तो बनाउने भन्ने स्पष्ट योजना ल्याउन निर्देशन दिएका छन्।
रास्वपाले आयोजना गरेको दुईदिने प्रशिक्षणको समापनमा आइतबार सम्बोधन गर्दै लामिछानेले क्षमता, विज्ञता र योग्यतासँगै राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताए। जनअपेक्षाअनुसार काम गर्न पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुन उनले केन्द्रीय सदस्यहरूलाई आग्रह गरे।
“बितेको ३५ वर्षको हिसाब गर्ने होइन, अबको ३५ वर्षको योजना ल्याउनुस्,” लामिछानेले भने, “अबको ३५ वर्ष कस्तो बनाउने, हाम्रै हातमा छ।”
उनले विगतका राजनीतिक नेतृत्वलाई दोष दिएर आफूलाई फरक देखाउने समय सकिएको बताए। शिक्षा, विकास, वैदेशिक नीति, अर्थतन्त्र र सामाजिक लोकतन्त्रको अभ्यासलगायत विषयमा आगामी ३५ वर्षका लागि स्पष्ट दृष्टिकोण र कार्ययोजना आवश्यक रहेको उनको भनाइ थियो।
लामिछानेले आफूले २०७९ सालमा २१ सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्ने अवसर आएको दाबी गर्दै परिवर्तनको राजनीतिक प्रतिबद्धताका कारण उक्त प्रस्ताव अस्वीकार गरेको बताए।
“मलाई २१ सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्नका लागि मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियो,” उनले भने, “तर, त्यतिखेर एउटै कुरा दिमागमा आयो– यो आन्दोलन, यो आशा र भरोसा कहाँ जाने?”
आफू केही महिनाका लागि प्रधानमन्त्री बनेर सिंहदरबारमा तस्वीर झुन्ड्याउनुभन्दा परिवर्तनको अभियानलाई प्राथमिकता दिएको उनको भनाइ थियो। उनले उक्त घटनालाई आफूले राजनीतिक प्रतिबद्धताको उदाहरणका रूपमा प्रस्तुत गरे।
सभापति लामिछानेले अहिले रास्वपाको काँधमा आएको राजनीतिक जिम्मेवारीलाई व्यक्तिगत लाभका लागि प्रयोग नगर्न पनि नेताहरूलाई सचेत गराए। इमानदारिता, योग्यता र क्षमतासँगै राजनीतिक आँट, साहस र प्रतिबद्धता आवश्यक रहेको उनले बताए।
“जसोतसो राजनीति त हाम्रो पोल्टामा आइपुग्यो। तर, यो हाम्रो लाभमा प्रयोग नहोस्,” लामिछानेले भने।
उनले आफ्नो कारणले पार्टीका कुनै पनि सदस्यको शिर झुक्न नदिने प्रतिबद्धता जनाउँदै केन्द्रीय सदस्यहरूबाट पनि त्यस्तै प्रतिबद्धता अपेक्षा गरेको बताए। स्थानीय तहको निर्वाचन नजिकिँदै गएको भन्दै उनले नेताहरूलाई केन्द्रमा मात्र सीमित नभई गाउँ–टोलमा पुगेर जनतासँग संवाद गर्न निर्देशन दिए।
लामिछानेले सरकारसँगै विपक्षी पनि बलियो रहेको उल्लेख गर्दै विपक्षीसँग राजनीतिक रूपमा प्रभावकारी ढंगले काम गर्न नसके मुलुकले थप जटिल अवस्था सामना गर्नुपर्ने चेतावनी दिए।
सरकारको पहिलो वर्षको कामप्रति आमनागरिकबाट ठूलो गुनासो नआएको दाबी गर्दै उनले भ्रष्टाचार र अनियमितताको आरोप लाग्न नदिन पार्टीका नेता तथा कार्यकर्तालाई सचेत रहन आग्रह गरे।
“ती नागरिक, जसले घरमा परिवारसँग झगडा गरेर घन्टीमा भोट हालेका छन्, उनीहरू सरकारले भ्रष्टाचार गरेको छैन भनेर नबोली बसिरहेका छन्,” उनले भने, “उनीहरू बोल्ने दिन आयो भने हामीलाई गाह्रो हुन्छ। उनीहरूलाई बोल्ने दिन आउन नदिने जिम्मेवारी तपाईंहरूको हो।”
आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीले तय गरेको ‘क्लिन क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को मापदण्ड अक्षरशः पालना गरिने लामिछानेले स्पष्ट पारे। व्यक्तिगत पहुँच, सिफारिस वा लेनदेनका आधारमा टिकट पाउने भ्रममा नपर्न उनले पार्टीका नेताहरूलाई चेतावनी दिए।
“आउने चुनावमा तपाईं उम्मेदवार हो भनेर कसैले भनेको छ भने त्यसले नराम्रोसँग ठग्दै छ,” उनले भने, “अझ त्यसका लागि कसैले झुक्याएर केही लेनदेन गरेको छ भने तपाईंको लगानी नराम्रोसँग डुब्छ।”
लामिछानेले आगामी दिनमा पार्टीलाई पूर्ण रूपमा चलायमान बनाउने भन्दै आफू केही दिनभित्र मधेशसहित देशका विभिन्न क्षेत्रमा पुग्ने र नेताहरूलाई समेत जनताका गुनासा सुन्न देशभर परिचालन गर्ने बताए। सरकारका कामकारबाहीबारे नागरिकले उठाउने प्रश्नको जवाफ र समाधानका लागि तयार रहन उनले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए।
प्रतिक्रिया