ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो एक वर्षमा एक हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ३३१ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन्।
कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार भ्रमण गर्ने विदेशी पर्यटकमध्ये ७९ जना सार्क राष्ट्रका रहेका छन् भने एक हजार २५२ जना अन्य विदेशी पर्यटक रहेका छन्।
सार्क राष्ट्रका पर्यटकमध्ये ११ जना महिला र ६८ जना पुरुष रहेका छन्। सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकमा ८१३ जना पुरुष र ४३९ जना महिला रहेका छन्।
गत आवमा ४९ जना नेपालीले समेत कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका कार्यालयले जनाएको छ। उनीहरूमध्ये ४८ जना पुरुष र एक जना महिला रहेका छन्।
महिनागत रूपमा हेर्दा गत आवमा सबैभन्दा धेरै पर्यटक कात्तिक महिनामा आएका छन्। उक्त महिनामा ६०७ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए।
यस्तै, भदौमा १५ जना, असोजमा २९३ जना, मङ्सिरमा ७८ जना, चैतमा १४३ जना, वैशाखमा २०४ जना र जेठमा ४० जना पर्यटकले कञ्चनजङ्घा क्षेत्र भ्रमण गरेका थिए। साउन, पुस, माघ, फागुन र असार महिनामा भने कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न कुनै पर्यटक नआएको कार्यालयले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने कञ्चनजङ्घा क्षेत्रमा एक हजार ३८० जना पर्यटकले भ्रमण गरेका थिए। यस हिसाबले गत आवमा पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही घटेको देखिन्छ।
कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटकबाट कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले गत आवमा २७ लाख २८ हजार ४०० रुपैयाँ भ्रमण शुल्कबापत राजस्व सङ्कलन गरेको जनाएको छ।
प्रतिक्रिया