काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री एवं स्वकीय सचिव गङ्गा दाहालले आफ्नो परिवारमाथि लगाइएका आर्थिक अनियमिततासम्बन्धी आरोपको कडा शब्दमा खण्डन गरेकी छन्।
सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै दाहालले आफू र आफ्नो परिवारविरुद्ध नियोजित रूपमा अफवाह फैलाउने काम भइरहेको दाबी गरेकी हुन्।
विगतमा आफूहरूको परिवारसँग ‘दुबईमा ४० अर्ब रुपैयाँ रहेको’ तथा ‘भाटभटेनीलगायत ठूला व्यापारिक घरानासँग साँठगाँठ रहेको’ जस्ता आरोप लगाइएको स्मरण गर्दै उनले ती आरोप पुष्टि हुन नसकेपछि अहिले फेरि ‘५० करोडको हावादारी हल्ला’ चलाइएको बताएकी छन्।
दाहालले यस्ता आरोप लगाउनेहरूलाई त्यसको प्रमाण सार्वजनिक गर्न चुनौतीसमेत दिएकी छन्।
“राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला ! कुनै पनि आरोप पुष्टि नभएपछि अहिले बजारमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ,” उनले लेखेकी छन्, “म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन्?”
उनले आफू र आफ्नो परिवार जुनसुकै कानुनी छानबिनका लागि तयार रहेको पनि स्पष्ट पारेकी छन्। आफ्नो परिवारले सम्पत्ति विवरण सरकारसमक्ष बुझाइसकेको उल्लेख गर्दै उनले राज्यले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएकी छन्।
“हामीले हाम्रो सम्पत्ति विवरण सरकारसमक्ष केही समयअघि नै बुझाइसकेका छौँ। सरकारले गर्ने जुनसुकै अनुसन्धानका लागि हाम्रो सहयोग रहनेछ। गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौँ,” दाहालले भनेकी छन्।
आफ्नो बाल्यकाल क्रान्ति र असामान्य परिस्थितिमा बितेको स्मरण गर्दै दाहालले जनतालाई धोका दिनुभन्दा मृत्यु स्वीकार गर्ने आफ्नो ‘स्कुलिङ’ रहेको बताएकी छन्।
उनले परिवारमाथि निरन्तर लगाइने आरोप र फैलाइने अफवाहको राजनीतिक तथा व्यक्तिगत स्वार्थबाट प्रेरित भएर मूल्याङ्कन नगर्न आग्रहसमेत गरेकी छन्।
प्रतिक्रिया