काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभा संसदीय दलका नेता उद्घव थापालाई पार्टीबाट निष्कासन गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै थापामाथि कडा कारबाही गरिएको जानकारी दिएका हुन्।
थापाले केन्द्र तथा प्रदेशमा कायम राजनीतिक समीकरणविपरीत नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेका थिए। उनको उक्त कदमप्रति असन्तुष्टि जनाउँदै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो।
तर, थापाले पार्टीको निर्देशन पालना नगरेपछि उनलाई कारबाही गरिएको राप्रपाले जनाएको छ।
अध्यक्ष लिङदेनले थापालाई पार्टीको साधारण सदस्य तथा प्रदेश सभा सदस्यबाट समेत निष्कासन गरिएको बताए।
“उद्घव थापालाई साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत निष्कासन गरिएको छ,” लिङदेनले भने।
संसदीय दलका नेतालाई नै कारबाही गरिसकेको उल्लेख गर्दै अध्यक्ष लिङदेनले पार्टीको निर्णय र निर्देशनविपरीत सरकारमा सहभागी हुने अन्य नेताहरूलाई समेत क्रमशः कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्।
राप्रपाको यो निर्णयसँगै बागमती प्रदेशमा पार्टीभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ।
प्रतिक्रिया