कांग्रेस महाधिवेशन निष्पक्ष र विश्वसनीय बनाउनुपर्छ : सभापति थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०८३, बुधबार ०५:४९

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन्।

मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले निर्वाचन समितिको मुख्य जिम्मेवारी निर्वाचन गराउनु भए पनि त्यसको निष्पक्षता र विश्वसनीयता सबैभन्दा महत्वपूर्ण रहेको बताए।

उनले विगतका महाधिवेशनमा निर्वाचन समितिका संयोजक तथा सदस्यहरू पार्टी नेतृत्वबाट प्रस्तावित भए पनि निर्वाचनको जिम्मेवारी सम्हालेपछि निष्पक्ष रूपमा काम गरेकै कारण निर्वाचन परिणाम सबैले स्वीकार गर्ने अवस्था बनेको स्मरण गरे।

वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई निर्वाचन समितिको संयोजकको जिम्मेवारी दिँदा पनि राजनीतिक रुझानभन्दा माथि उठेर निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको थापाले बताए।

‘पार्टीभित्रको राजनीतिक रुझान, लाइक, डिस्लाइक, आफूलाई को मनपर्छ, को मनपर्दैन, त्यो छुट्टै विषय हो। तर निर्वाचनको काम सुरु भइसकेपछि सबैले यसमा फेयरनेस महसुस गर्न पाउनुपर्छ,’ उनले भने।

सभापति थापाले महाधिवेशनमा सदस्यता र निर्वाचन प्रक्रिया मुख्य विषय रहेको उल्लेख गर्दै यसपटक सदस्यता डिजिटलाइज भइसकेकाले विगतमा जस्तो विवाद नहुने दाबी गरे।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले सदस्यताको विषय टुंग्याएर निर्वाचन समितिलाई हस्तान्तरण गर्ने र सोही सूचीलाई मतदाता सूचीका रूपमा प्रयोग गरिने उनले जानकारी दिए।

सदस्यता वा निर्वाचन समितिको निष्पक्षतामाथि कुनै आशंका भए आफू खुला छलफलका लागि तयार रहेको पनि थापाले बताए। ‘सदस्यताको सन्दर्भमा कुनै प्रश्न छ वा अहिले गरेको काम निष्पक्ष भएन भन्ने आशंका छ भने अर्को कुन समिति बनाउनुपर्ने हो, कसरी बनाउनुपर्ने हो, त्यसका लागि म तयार छु, हामी तयार छौँ,’ उनले भने।

थापाका अनुसार असोज १६ गतेदेखि काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै मंगलबारदेखि महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। निर्वाचन समितिले तयार गरेको कार्यतालिकाअनुसार सबै अघि बढ्नुपर्ने उनले बताए।

महाधिवेशनको मिति र स्थान केन्द्रीय कार्यसमितिले तय गर्ने तथा त्यसअघि गर्नुपर्ने निर्वाचनसम्बन्धी कार्यतालिका निर्वाचन समितिले तय गर्ने पार्टीको परम्परा रहेको पनि उनले स्पष्ट पारे।

समयको चाप रहे पनि सदस्यता डिजिटलाइज भएकाले यसपटक प्रक्रिया विगतभन्दा सहज हुने अपेक्षा व्यक्त गर्दै थापाले कुनै पनि प्रकारको अनियमितता वा पूर्वाग्रह नदेखिने गरी निर्वाचन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

‘कहीं कतै कुनै पनि खालका अनियमितता भएनन् वा कोहीप्रति पनि पूर्वाग्रह राखिएन भन्ने कुरा स्थापित हुनेगरी गर्नुपर्ने छ,’ उनले भने।

महाधिवेशनका क्रममा जिल्लास्तरमा कानुन व्यवसायी, शिक्षक, प्राध्यापक तथा अन्य पेसाकर्मीलाई समेत निर्वाचन प्रक्रियामा सहभागी गराउन थापाले आग्रह गरे।

उनले विधानमा भएका नयाँ व्यवस्था, नियम तथा निर्वाचन निर्देशिकाबारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए। महाधिवेशन सम्पन्न भएपछि ‘फेयर अधिवेशन भयो’ भन्ने विश्वास निर्माण हुनेगरी पार्टी नेतृत्व र निर्वाचन समितिले काम गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor