काठमाडौं । भारतमा आयोजना हुने प्रथम वर्ल्ड ओपन तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा सहभागी हुन जान लागेका बुढानीलकण्ठ नगरपालिकाका प्रतिभावान तेक्वान्दो खेलाडीहरूलाई नगर प्रमुख मिठाराम अधिकारी तथा वडा नं. १३ का वडा अध्यक्ष टिकेश नारायण श्रेष्ठले अग्रिम शुभकामनासहित बिदाइ गरेका छन्।
Rising Youth Taekwondo का खेलाडीहरूलाई बिदाइ गर्दै नगर प्रमुख अधिकारीले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर उत्कृष्ट प्रदर्शन गर्न तथा बुढानीलकण्ठ नगरपालिका र नेपालको नाम उच्च राख्न सफलताको शुभकामना दिए।
नगर प्रमुख अधिकारीले खेलकुद क्षेत्रले युवाको प्रतिभा, अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको प्रयास प्रशंसनीय रहेको बताए। उनले खेलाडीहरूलाई आफ्नो क्षमता र सीपको उच्चतम प्रदर्शन गर्दै प्रतियोगितामा सफलता हासिल गर्न शुभकामना व्यक्त गरे।
त्यस्तै, वडा नं. १३ का वडा अध्यक्ष टिकेश नारायण श्रेष्ठले पनि खेलाडीहरूलाई अग्रिम शुभकामना दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देशको गौरव बढाउन आग्रह गरे। उनले स्थानीय स्तरबाट खेलकुद प्रतिभाको विकास र प्रोत्साहन आवश्यक रहेको बताउँदै खेलाडीहरूको मेहनत र लगनशीलताले आगामी दिनमा थप सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
भारतमा हुने प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्दै बुढानीलकण्ठ नगरपालिका तथा राष्ट्रको नाम उच्च राख्ने लक्ष्य लिएका छन्।
प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन, सफलता तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिएको छ।
प्रतिक्रिया