काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ। टोलीले भारतमा १० दिन तयारी गर्नेछ। भारतमा हुने प्रशिक्षणपछि नेपाली टोली त्यहाँबाटै मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ।
बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित नेपाली टोली मलेसिया जाने बताए। उनले पछिल्ला खेलमा देखिएका कमजोरी पहिचान गरी सुधार गर्न भारतमा हुने १० दिने तयारी महत्वपूर्ण हुने बताए।
‘हामी मोटिभेसनका साथ मलेसिया जानेछौँ। तर त्योभन्दा अगाडि आफ्नो यात्रालाई समीक्षा गर्ने राम्रो समय थियो। नेदरल्यान्ड्सबाट फर्किएपछि कहाँ–कहाँ चुक्यौँ र के–कस्ता गल्ती भए भन्ने पहिचान गर्दै त्यसमा काम गर्न बैङ्गलोरमा क्याम्प आयोजना गरिएको छ,’ उनले भने।
भारतमा हुने प्रशिक्षणबाट मलेसियाको जस्तै वातावरणमा अभ्यास गर्ने अवसर प्राप्त हुने उनले बताए। ‘१० दिनका लागि हामी त्यहाँ जानेछौँ र मलेसियाको जस्तै कन्डिसन हुनेछ। त्यहाँ आफ्ना गल्तीहरू सुधार गर्दै आगामी एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित खेल्नेछौँ। ट्रफी घर ल्याउन भरपुर प्रयास गर्नेछौँ,’ लामिछानेले भने।
त्यस्तै क्यानका सचिव तथा पूर्वराष्ट्रिय क्रिकेटर पारस खड्काले राष्ट्रिय टोलीको नयाँ स्क्वाड र कप्तानी परिवर्तनबारे विभिन्न प्रश्न उठे पनि क्रिकेट टिम गेम भएकाले सबै खेलाडीको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए।
उनले सन्दीप लामिछानेलाई नेपाली पुरुष एकदिवसीय टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिइएको जानकारी दिँदै टोलीका खेलाडीले पछिल्लो समय राम्रो क्रिकेट खेल्दै आएको बताए।
खड्काले एसीसी प्रिमियर कप जित्न नेपालले सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए। पछिल्ला पाँच–छ वर्षमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक उपलब्धि हासिल गरे पनि कतिपय खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको उनले उल्लेख गरे।
नेपाली क्रिकेटलाई अझ बलियो बनाउन खेलाडीलाई प्रोत्साहन र सहयोग गर्न क्यान प्रतिबद्ध रहेको खड्काले बताए। राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार, प्रायोजक तथा अन्य सरोकारवालाको सहयोगबाट नेपाली क्रिकेट यो अवस्थासम्म आइपुगेको उनको भनाइ थियो।
खड्काले एसीसी प्रिमियर कपमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेर एसिया कपका लागि छनोट हुने विश्वास व्यक्त गरे।
यसअघि क्यानले लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको थियो। नेपाली पुरुष एकदिवसीय टोलीको कप्तानका रूपमा लेग स्पिनर लामिछानेलाई चयन गरिएको हो।
घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।
प्रतिक्रिया