एनआरएनएको यूरोप र एसिया क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०८३, आईतवार ०६:२०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलन तथा एसिया क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ।

यूरोप क्षेत्रीय सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ। आगामी सोमबार र मंगलबार आयोजना हुने सम्मेलनको तयारीबारे जानकारी दिँदै संघका अध्यक्ष डा. हेमराज शर्माले वर्तमान राजनीतिक सन्दर्भमा उपनेता पराजुलीलाई प्रमुख अतिथिका रूपमा सहभागी गराउनु सकारात्मक सन्देश भएको बताए।

उनले एनआरएनएका यूरोप, एसियालगायत विभिन्न क्षेत्रीय सम्मेलनले गैरआवासीय नेपाली नागरिकता, अधिकार तथा नेपालमा लगानीका विषयमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। सम्मेलनहरू सम्पन्न भएपछि काठमाडौंमा संघका पदाधिकारीहरू भेला भएर नयाँ कार्यक्रम घोषणा गरिने उनले जानकारी दिए।

यूरोप संयोजक रोवर्ट लिम्बुद्वारा जारी विज्ञप्तिअनुसार सम्मेलनमा यूरोपसहित विश्वका विभिन्न क्षेत्रबाट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्।

हालसम्म ३५ देशबाट २०० भन्दा बढी सहभागीको सहभागिता सुनिश्चित भइसकेको र कुल सहभागिता करिब २५० पुग्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा डायस्पोरा महाशाखाका उपसचिव कृष्णकुमार सुवेदी, डब्लिन सिटी काउन्सिलकी काउन्सिलर सुप्रिया सिंहालगायत एनआरएनए नेतृत्व तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा प्रमुख विषयगत सत्र आयोजना गरिनेछन्। यस वर्षको सम्मेलनमा विशेषगरी गैरआवासीय नेपाली नागरिकता तथा अधिकार, नेपालमा लगानी, महिला, युवा तथा दोस्रो पुस्ताको सहभागितालाई प्राथमिकतामा राखिएको छ।

महिला केन्द्रित सत्रमा उद्यमशीलता, आर्थिक सशक्तीकरण, सुरक्षित आप्रवासन, स्वास्थ्य तथा कानुनी पहुँचका विषयमा छलफल हुनेछ। युवा तथा दोस्रो पुस्तासम्बन्धी सत्रमा नेतृत्व विकास, सूचना प्रविधि, उद्यमशीलता, पहिचान, भाषा–संस्कृति तथा नेपालसँगको दीर्घकालीन सम्बन्धका विषयमा छलफल गरिनेछ।

सम्मेलनले सन् २०३० र त्यसपछिका वर्षमा विश्वभर रहेका प्रवासी नेपालीको भूमिका तथा नेपालको विकासमा उनीहरूको साझेदारीबारे साझा मार्गचित्र निर्माण गर्ने लक्ष्य लिएको छ।

आयोजकका अनुसार सम्मेलन गैरआवासीय नेपालीका अधिकार तथा सरोकार नेपाल सरकार र राजनीतिक नेतृत्वसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने, यूरोपस्थित नेपाली समुदायबीच सहकार्य सुदृढ गर्ने तथा नेपाल र डायस्पोराबीच आर्थिक, सामाजिक र ज्ञानमा आधारित साझेदारी विस्तार गर्ने अवसरका रूपमा रहनेछ।

चीनको ग्वाङ्झाओमा एसिया क्षेत्रीय सम्मेलन

यसैबीच, एनआरएनएको एसिया क्षेत्रीय सम्मेलन यस वर्ष चीनको ग्वाङ्झाओमा आयोजना हुने भएको छ। आगामी अगस्ट १५ र १६ तारिखमा हुने सम्मेलनमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ।

एनआरएनए एसिया क्षेत्रीय संयोजक दीपक कँडेलका अनुसार सम्मेलनलाई प्रभावकारी र परिणाममुखी बनाउन नेपालका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहनेछ।

सम्मेलनमा नेपालको विकास, पर्यटन प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण तथा गैरआवासीय नेपालीको भूमिका लगायतका विषयमा व्यापक छलफल गरिनेछ।

सम्मेलनमा संघीय संसद्का सदस्यहरू मनिषा झा, जगदीश खरेल, ऐनबहादुर महार, युवराज दुलाल, क्षितिज थेबे, खुश्बु ओली, एरेन राई र खगेन्द्र सुनार तथा पूर्वसांसद सूर्य पाठक सहभागी हुने जनाइएको छ। त्यस्तै अरुणकुमार सुवेदी र राजेन्द्र बनियाँको समेत सहभागिता रहनेछ।

एनआरएनएले आयोजना गर्ने यस्ता क्षेत्रीय सम्मेलनले विश्वभर रहेका नेपालीलाई एकै ठाउँमा ल्याउने, अनुभव आदानप्रदान गर्ने तथा नेपालको आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्‍याउने उद्देश्य राखेको छ। विशेषगरी एसिया क्षेत्रमा रहेका नेपाली व्यवसायी, विज्ञ तथा पेशाकर्मीबीच सहकार्यका नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

कार्यक्रमका विभिन्न सत्रमा पर्यटन क्षेत्रको सम्भावना, नेपालमा लगानीको वातावरण, नीतिगत सुधार तथा गैरआवासीय नेपालीका अधिकार र भूमिकाका विषयमा छलफल गरिनेछ।

क्षेत्रीय सम्मेलनमा सहभागी हुन नेपालबाट केही पत्रकारसमेत जाने तयारीमा छन्। संघका नेतृत्वसँग निकट केही पत्रकार सहभागिताका लागि प्रयासरत रहे पनि प्रवासी नेपालीका मुद्दामा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकारहरू भने संघको प्राथमिकतामा नपरेको गुनासोसमेत सुनिएको छ।

हाल एनआरएनएको सञ्जाल करिब ९२ देशमा विस्तार भएको र एक लाखभन्दा बढी सदस्य आबद्ध रहेको संघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor