शिक्षकको हाजिरी हेरफेर गरी सरकारी रकम निकासा गरेको आरोपमा प्रधानाध्यापकसहित दुई जनाविरुद्ध मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०८३, आईतवार ०६:०९

काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका शिक्षकको हाजिरी तथा बिदा अभिलेखमा हेरफेर गरी सरकारी रकम निकासा गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंका कुमारी सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अनुसन्धानका क्रममा शिक्षक प्रियंका कुमारी सिंह २०७९ साल वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा अनुपस्थित रहेको पाइएको छ। तर तत्कालीन प्रधानाध्यापक यादवले शिक्षा ऐनबमोजिम आवश्यक कारबाही गर्नुको सट्टा हाजिरी रजिस्टर खाली राखी पछि एकमुष्ट हाजिरी गराएको आरोप छ।

यादवले हाजिरी रजिस्टरमा मसी मेटाउने सामग्री प्रयोग गरी पुनः हाजिरी गराएको र अनुपस्थित अवधिको हाजिरी विवरणसमेत मलंगवा नगरपालिकामा पेस गरी तलब निकासाका लागि सिफारिस गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा अनुपस्थित अवधिका लागि शिक्षक सिंहका नाममा विभिन्न शीर्षकमा गरी कुल ३ लाख ७१ हजार ३६ रुपैयाँ गैरकानुनी रूपमा निकासा तथा भुक्तानी भएको पाइएको आयोगको दाबी छ।

आयोगका अनुसार २०७९ साल वैशाखदेखि असारसम्म १ लाख ३० हजार १२१ रुपैयाँ तथा साउनदेखि कात्तिकसम्म २ लाख ४० हजार ९१४ रुपैयाँ निकासा गरिएको थियो। त्यसैगरी अन्य विवरणमा २ लाख ९० हजार ४३४ रुपैयाँसमेत निकासा भएको उल्लेख गरिएको छ।

सरकारी कागजातमा हेरफेर गरी सरकारी रकम हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरेको आरोपमा अख्तियारले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र १७ बमोजिम कारबाहीको मागदाबी गरेको छ।

आयोगले दुवै प्रतिवादीलाई कानुनबमोजिम सजाय हुनुका साथै बिगो असुलउपर गर्न माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor