कांग्रेस संस्थापनइतर भेलामा पाँच प्रतिवेदनमाथि छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०८३, आईतवार ०६:०८

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षइतरको राष्ट्रिय भेलामा विभिन्न पाँचवटा प्रतिवेदनमाथि छलफल भएको छ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको तीनदिने भेलामा शनिबार शीर्ष नेताहरूले राजनीतिक, आर्थिक, समसामयिक, कानुन तथा विधान र सांगठनिक विषयका प्रतिवेदन प्रस्तुत गरेका हुन्।

भेलामा नेता विमलेन्द्र निधिले राजनीतिक, डा. प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा विधान र उमाकान्त चौधरीले सांगठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

नेता निधिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै भेलालाई विधानअनुसारको सम्मेलनमा परिणत गर्न प्रस्ताव गरेका छन्। प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार प्रस्तुत सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल गरिएको थियो।

प्रदेशगत धारणा तथा प्रस्तुति जारी रहेकाले बाँकी छलफल आइतबार हुने जनाइएको छ। भेलाको समापन पनि आइतबार नै गर्ने कार्यतालिका रहेको छ।

पार्टीका पूर्वमहामन्त्री एवं भेलाका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा भइरहेको भेलाको शुक्रबार निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। पूर्वप्रधानमन्त्री देउवा स्वास्थ्य उपचार सकेर पाँच महिनापछि बिहीबार मात्रै स्वदेश फर्किएका थिए।

कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगनकुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो। विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षले उक्त महाधिवेशनलाई अवैध दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मान्यता दिएपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत पुगेको थियो। सर्वोच्च अदालतले पनि आयोगको निर्णयलाई नै मान्यता दिएको थियो।

त्यसपछि असन्तुष्ट पक्षले पुनरावलोकनका लागि दिएको निवेदनमाथि पुनःसुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले यही साउन २१ गते निस्सा प्रदान गरेको छ। यससँगै कांग्रेसभित्रको विवादले थप कानुनी तथा राजनीतिक बहसको रूप लिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor