काठमाडौं । International Project Development Forum (IPDF) ले माधुरी पौडेललाई श्रम, रोजगार तथा जनशक्ति विकास विभागको विभागीय संयोजकमा नियुक्त गरेको छ।
श्रम, रोजगार तथा जनशक्ति विकास क्षेत्रमा नीति, योजना, अनुसन्धान तथा परियोजनाको विकास गर्दै रोजगारीका अवसर विस्तार, सीप विकास, जनशक्ति व्यवस्थापन तथा श्रमसँग सम्बन्धित विभिन्न कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले पौडेललाई उक्त जिम्मेवारी प्रदान गरिएको IPDF ले जनाएको छ।
पौडेलको नेतृत्वमा विभागले श्रम तथा रोजगार क्षेत्रका सम्भावना पहिचान, सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, जनशक्ति विकास र सम्बन्धित परियोजनाको प्रवर्द्धनमा काम गर्ने जनाइएको छ। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा श्रम तथा रोजगारसम्बन्धी अवसर र सहकार्य विस्तार गर्न विभागले पहल गर्नेछ।
नियुक्तिपछि माधुरी पौडेलले आफूलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा IPDF अध्यक्ष मुकुन्द ढुंगाना तथा संस्थाप्रति धन्यवाद व्यक्त गरेकी छन्। उनले आफ्नो ज्ञान, अनुभव, क्षमता र सक्रियतालाई अधिकतम उपयोग गर्दै श्रम, रोजगार तथा जनशक्ति विकासको क्षेत्रमा प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
“IPDF ले प्रदान गरेको यो महत्वपूर्ण जिम्मेवारीप्रति म आभारी छु। संस्थाले दिएको विश्वासलाई आत्मसात् गर्दै श्रम, रोजगार तथा जनशक्ति विकासका क्षेत्रमा परिणाममुखी काम गर्नेछु। युवाको सीप विकास, रोजगारीका अवसरको विस्तार तथा जनशक्तिको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनेछु,” पौडेलले भनिन्।
IPDF अध्यक्ष मुकुन्द ढुंगानाले माधुरी पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको ज्ञान, अनुभव, नेतृत्व क्षमता र समर्पणले श्रम, रोजगार तथा जनशक्ति विकास विभागलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
अध्यक्ष ढुंगानाले IPDF अन्तर्गतका विभिन्न विभागलाई परियोजनामुखी, अनुसन्धानमुखी र परिणाममुखी बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा संस्थाको प्रभाव विस्तार गर्ने लक्ष्य रहेको बताए।
उनले श्रम तथा रोजगार क्षेत्र अहिले राष्ट्रिय विकासको महत्वपूर्ण आधार भएकाले सीपयुक्त जनशक्ति उत्पादन, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा श्रम बजारसँग सम्बन्धित परियोजनालाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताए।
IPDF ले पौडेलको नेतृत्वमा श्रम, रोजगार तथा जनशक्ति विकास विभागले नयाँ सम्भावना पहिचान गर्दै संस्था र सम्बन्धित क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरेको जनाएको छ।
प्रतिक्रिया