पहिरो प्रभावित बस्ती स्थानान्तरण गर्न पहल गर्छौं : सञ्चारमन्त्री तिमिल्सिना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०८३, आईतवार ०६:०७

काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटका पहिरो प्रभावित तथा जोखिमयुक्त बस्तीको स्थलगत निरीक्षण गर्दै जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल गर्ने बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोली लिएर मन्त्री तिमिल्सिनाले सूर्यगढी गाउँपालिका–२ स्थित राम्चे भिर, रातामाटे र पहरेथोकलगायत क्षेत्रको निरीक्षण गरेका हुन्। पहिरोका कारण पहरेथोक, फट्पुर, सेमराङलगायत बस्ती जोखिममा रहेको जनाइएको छ।

मन्त्री तिमिल्सिनाले जोखिमयुक्त बस्तीको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले तत्काल अस्थायी आवास, राहत तथा सुरक्षित आवतजावतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए।

पहिरोका कारण सडक तथा विद्युत् संरचनामा पुगेको क्षतिको समेत मन्त्री तिमिल्सिनाले निरीक्षण गरेका छन्। अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन, क्षतिग्रस्त विद्युत् संरचना मर्मत गर्न तथा जोखिमयुक्त क्षेत्रमा वैकल्पिक व्यवस्था मिलाउन उनले सम्बन्धित निकायलाई आग्रह गरे।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार जोखिममा रहेका परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गरिएको छ। थप भूगर्भीय अध्ययनपछि दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको उनले बताए।

मन्त्री तिमिल्सिनाले दुप्चेश्वर गाउँपालिका–३ स्थित सरमथलीको पहिरो क्षेत्रको समेत निरीक्षण गरेका छन्। उनले तादी गाउँपालिका–३ अल्छेढुङ्गना र शिवपुरी गाउँपालिका–६ अखौलीका पहिरो प्रभावित क्षेत्रको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

स्थानीयवासीले सडक, विद्युत् तथा दूरसञ्चार सेवा पुनः सञ्चालन, पहिरो नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor