पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति राष्ट्रिय अनलाइन पत्रकार संघको आपत्ति प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल रोक्न माग, घटनालाई कानुनी प्रक्रियाबाट समाधान गर्न आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०८३, शुक्रबार ०६:१८

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको घटनाप्रति राष्ट्रिय अनलाइन पत्रकार संघ (NOJA) ले गम्भीर आपत्ति जनाएको छ। संघले पत्रकार पक्राउ गर्नु तथा सञ्चारगृहका कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिनु प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको संवैधानिक अधिकारमाथिको गम्भीर हस्तक्षेप भएको जनाएको हो।

प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्षसमेत रहेका श्रेष्ठलाई साउन २७ गते राति पक्राउ गरिएको थियो। साथै, जनआस्था मिडियाका सञ्चार सामग्रीसमेत नियन्त्रणमा लिइएको घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगानाद्वारा जारी प्रेस विज्ञप्तिमा समाचार वा सञ्चार सामग्रीमा चित्त नबुझेमा विद्यमान कानुनअनुसार सम्बन्धित निकायमा उजुरी तथा कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै पत्रकारलाई पक्राउ गर्ने र सञ्चार उपकरण नियन्त्रणमा लिने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवेदनशीलतामाथि प्रश्न उठाएको उल्लेख गरिएको छ।

संघले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भ भएको स्मरण गराउँदै सार्वजनिक सरोकारका विषयमा समाचार लेखेकै आधारमा पत्रकार तथा सञ्चारमाध्यममाथि राज्यशक्तिको प्रयोग गरी दबाब वा त्रास सिर्जना गर्ने प्रवृत्ति कुनै पनि अवस्थामा स्वीकार्य नहुने जनाएको छ।

विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित सामग्रीसम्बन्धी विवादलाई कानुनी तथा संस्थागत प्रक्रियाबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै प्रेस काउन्सिल नेपालले समेत आफ्नो संवैधानिक तथा कानुनी भूमिका प्रभावकारी रूपमा निर्वाह गरी पत्रकारिता र प्रेस स्वतन्त्रताको संरक्षणमा स्पष्ट भूमिका खेल्नुपर्ने माग गरिएको छ।

संघले सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी तथा सम्बन्धित निकायलाई पत्रकार तथा सञ्चारमाध्यममाथिको अनावश्यक हस्तक्षेप तत्काल रोक्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गरी घटनाको कानुनी प्रक्रियाबाट समाधान खोज्न जोडदार माग गरेको छ।

साथै, राष्ट्रिय अनलाइन पत्रकार संघले पत्रकारको सुरक्षा, व्यावसायिक मर्यादा, प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको अधिकारको संरक्षणका लागि निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor