१६ वर्षीया नाबालिगको डिम्ब कारोबार आरोपमा डा. नूतन शर्मा हाजिरजमानीमा रिहा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०८३, बिहीबार ०६:०५

काठमाडौं । १६ वर्षीया नाबालिगलाई आर्थिक प्रलोभनमा पारी अवैध रूपमा डिम्ब संकलन तथा कारोबारमा संलग्न भएको आरोप लागेकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं आइभिएफ विशेषज्ञ डा. नूतन शर्मा प्रहरीमा हाजिर भएको केही समयमै हाजिरजमानीमा रिहा भएकी छन्।

प्रहरीका अनुसार डा. शर्मा बिहीबार जिल्ला प्रहरी परिसर ललितपुरमा आफैँ हाजिर भएकी थिइन्। प्रहरीमा हाजिर भएलगत्तै उनलाई जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा लगिएको थियो। त्यहाँ बयान लिएपछि सोही दिन हाजिरजमानीमा छाडिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका न्यायाधिवक्ता गणेश पौडेलका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी नभएकाले उनलाई हाजिरजमानीमा छाडिएको हो। उनका अनुसार डा. शर्माले बिचौलिया राधिका गोतामेसँग आर्थिक कारोबार भएको स्वीकार गरेकी छन् भने नाबालिगको डिम्ब कारोबारमा आफ्नो संलग्नता नरहेको बयान दिएकी छन्।

मानव बेचबिखनविरुद्धको कसुरमा अनुसन्धान

ललितपुर प्रहरीले डा. शर्मा र बिचौलिया राधिका गोतामेविरुद्ध मानव बेचबिखनविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको थियो। गोतामेलाई प्रहरीले केही समयअघि पक्राउ गरेको थियो भने डा. शर्मा त्यसबेला नेपालबाहिर रहेकी थिइन्।

अदालतबाट पक्राउ पुर्जी जारी नभएकाले दुवैलाई हाजिरजमानीमा छाडिएको सरकारी वकिल कार्यालयले जनाएको छ। यद्यपि, घटनाको अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले बताएका छन्।

डा. शर्मा र गोतामेबीच आर्थिक कारोबार

अनुसन्धानका क्रममा डा. शर्मा र बिचौलिया गोतामेबीच आर्थिक कारोबार भएको देखिने विवरणसमेत फेला परेको प्रहरी स्रोतले जनाएको छ। उनीहरूबीच आदानप्रदान भएका ह्वाट्सएप सन्देश तथा बैंकिङ कारोबारमा डा. शर्माले गोतामेको खातामा दुई पटक ५०–५० हजार रुपैयाँ पठाएको देखिएको स्रोतको दाबी छ।

तर, डा. शर्माले उक्त रकम नाबालिगको डिम्ब कारोबारसँग सम्बन्धित नभएको र आफूले कानुनको सीमाभित्र रहेर डिम्बसम्बन्धी काम गर्दै आएको बयान दिएको बताइएको छ।

नाबालिगलाई हर्मोनको इन्जेक्सन लगाएको आरोप

प्रहरी अनुसन्धानअनुसार डा. शर्माको ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा रहेको आइभिएफ सेन्टरमा नाबालिगलाई डिम्ब दिनका लागि आर्थिक प्रलोभनमा पारिएको आरोप छ।

गत १४ असारमा नाबालिगलाई डिम्ब दिन सहमत गराई हर्मोन वृद्धि गर्ने इन्जेक्सन लगाइएको र सात दिनपछि सेन्टरमा बोलाइएको आरोप अनुसन्धानमा समेटिएको छ। इन्जेक्सनपछि स्वास्थ्यमा समस्या देखिएपछि बालिका तोकिएको समयभन्दा केही ढिलो गरी सेन्टर पुगेकी थिइन्।

तर, आफूलाई ढिला आएको भन्दै डा. शर्माले हप्काएर पठाएको र स्वास्थ्य अवस्था थप बिग्रिएपछि बालिकाले घटनाबारे अभिभावकलाई जानकारी गराएको बताइएको छ।

अभिभावकले बिचौलिया गोतामेलाई भेटेपछि उनले बालिकाको स्वास्थ्य अवस्थाबारे डा. शर्मालाई जानकारी गराएको बताइएको छ। तर, उपचार गर्नुको सट्टा डा. शर्माले उल्टै झपारेको आरोपसमेत लगाइएको छ।

पीडित बालिकाको मानसिक स्वास्थ्यमा असर

घटनापछि नाबालिग बालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको परिवारले जनाएको छ। अभिभावकका अनुसार उनी अहिले डिप्रेसनको उपचारमा छिन्।

पाटन मानसिक अस्पतालका चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरिरहेकी बालिका घरबाट बाहिर ननिस्कने, कसैसँग कुराकानी नगर्ने, खाना नखाने, धेरै सुत्ने तथा कहिले रुने र कहिले एकोहोरिने समस्याबाट गुज्रिरहेको परिवारको भनाइ छ। स्वास्थ्य समस्याकै कारण कक्षा १२ मा अध्ययनरत उनी विद्यालयसमेत जान सकेकी छैनन्।

यसअघि पनि डा. शर्माको लाइसेन्स निलम्बन

डा. शर्मा यसअघि पनि विवादमा आएकी चिकित्सक हुन्। नेपाल मेडिकल काउन्सिलले लिंग पहिचान गरी गर्भपतन गराएको अभियोगमा उनको चिकित्सकीय लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको थियो।

काउन्सिलको निर्णयविरुद्ध उनले उच्च अदालत पाटनमा रिट दायर गरे पनि अदालतले काउन्सिलको निर्णय कार्यान्वयन रोक्ने अन्तरिम आदेश दिएको थिएन।

उनी सामाजिक सञ्जालमा आइभिएफसम्बन्धी सामग्री निर्माण गर्ने चिकित्सकका रूपमा समेत परिचित छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor