काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष तथा समाजसेवी रबिना थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (महिला तर्फ) उम्मेदवारी घोषणा गरेकी छन्।
नेपाली जनसम्पर्क समितिबाट केन्द्रीय सदस्य (महिला तर्फ) उम्मेदवार बन्ने घोषणा गर्दै थापाले लोकतन्त्र, समावेशिता, महिला तथा युवा सहभागिता, प्रवासी नेपालीको हकहित, आर्थिक विकास र समृद्धिका मुद्दालाई आफ्नो राजनीतिक यात्राको प्राथमिकतामा राख्ने बताएकी छन्।
लामो समयदेखि गैरआवासीय नेपाली अभियान, सामाजिक सेवा, महिला सशक्तीकरण तथा नेपाली डायस्पोराका मुद्दामा सक्रिय थापाले विश्वभर रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप, अनुभव, प्रविधि र पूँजीलाई नेपालको विकास र समृद्धिसँग जोड्नुपर्ने बताएकी छन्।
उनले विदेशमा रहेका नेपाली तथा भावी पुस्ताको नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै उनीहरूको हक, अधिकार र नेपालप्रतिको अपनत्वलाई संस्थागत रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखेकी छन्। गैरआवासीय नेपालीका नागरिकता तथा अधिकारसँग सम्बन्धित विषयलाई समेत नीतिगत र राजनीतिक तहबाट प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ।
थापाले गैरआवासीय नेपाली अभियानमा लामो समय नेतृत्व गर्दा विश्वभरका नेपाली समुदायका समस्या, सम्भावना र अपेक्षालाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरेको उल्लेख गर्दै उक्त अनुभवलाई अब नेपाली कांग्रेसको संगठन र नीतिनिर्माण प्रक्रियासँग जोड्न चाहेको बताएकी छन्।
उनले भनिन्, “विदेशमा रहेका नेपालीहरूको हकहितको संरक्षण गर्दै उनीहरूले आर्जन गरेको ज्ञान, सीप, अनुभव र पूँजीलाई नेपालको विकासमा कसरी जोड्न सकिन्छ भन्ने विषय मेरो प्रमुख प्राथमिकतामध्ये एक हो। डायस्पोरामा बसेर आवाज उठाउनु मात्र पर्याप्त हुँदैन; यी विषयलाई राज्यको नीति निर्माण तहसम्म प्रभावकारी रूपमा पुर्याउन राजनीतिक सहभागिता पनि आवश्यक छ भन्ने मेरो अनुभवले सिकाएको छ।”
लोकतान्त्रिक प्रणालीमार्फत नीति निर्माणमा योगदान पुर्याउने उद्देश्यले आफू नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय हुन लागेको उल्लेख गर्दै उनले पार्टीभित्र रहेर प्रवासी नेपाली, महिला र युवाका मुद्दालाई थप सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
“विश्वभर छरिएर रहेका नेपाली समुदायसँग काम गर्दा मैले हासिल गरेको अनुभव नेपाली कांग्रेसलाई दिन चाहन्छु। नेपाली कांग्रेसको डायस्पोरा सञ्जाललाई अझ व्यवस्थित, प्रभावकारी र बलियो बनाउँदै विदेशमा रहेका नेपालीलाई नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणसँग जोड्ने मेरो उद्देश्य हो,” थापाले भनिन्।
उनले महिला र युवाको अर्थपूर्ण राजनीतिक सहभागिता बढाउनुपर्नेमा पनि जोड दिएकी छन्। नेतृत्वमा महिलाको उपस्थिति संख्यात्मक प्रतिनिधित्वमा मात्र सीमित नभई निर्णय प्रक्रिया, नीति निर्माण र कार्यान्वयनमा समेत प्रभावकारी हुनुपर्ने उनको धारणा छ।
थापाले नेपालको अबको प्रमुख एजेन्डा आर्थिक समृद्धि र आर्थिक रूपान्तरण हुनुपर्ने उल्लेख गर्दै स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा विदेशमा रहेका नेपालीको पूँजी, सीप र अन्तर्राष्ट्रिय अनुभवलाई देशको विकासमा उपयोग गर्ने नीति आवश्यक रहेको बताएकी छन्।
“हाम्रो लक्ष्य देशलाई समृद्ध बनाउने मात्र होइन, प्रत्येक नेपाली नागरिकले समृद्धिको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नु हो। रोजगारी, उद्यमशीलता, लगानी, शिक्षा र अवसरलाई जोडेर आर्थिक विकासको स्पष्ट बाटो निर्माण गर्नुपर्छ। यसका लागि नीति निर्माण तहमा सक्रिय भूमिका निर्वाह गर्ने मेरो चाहना छ,” उनले बताइन्।
नेपाली जनसम्पर्क समिति तथा प्रवासी नेपाली समुदायसँग लामो समयदेखि जोडिएकी थापाले विदेशमा रहेका नेपाली र मातृभूमिबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, उनीहरूको अनुभव र क्षमतालाई राष्ट्रिय विकासमा जोड्ने तथा महिला र युवा नेतृत्वलाई प्रोत्साहन गर्ने विषयलाई आफ्नो राजनीतिक यात्राको प्रमुख आधार बनाउने बताएकी छन्।
आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत पद प्राप्तिको उद्देश्यमा मात्र सीमित नभई आफूले वर्षौंदेखि सामाजिक तथा गैरआवासीय नेपाली अभियानमा हासिल गरेको अनुभवलाई राष्ट्रिय राजनीतिको नीतिनिर्माण तहमा उपयोग गर्ने प्रयास भएको उनको भनाइ छ।
“विश्वभरका नेपालीको अनुभव, महिला र युवाको ऊर्जा तथा नेपालभित्रका नागरिकको आकांक्षालाई जोडेर समृद्ध, समावेशी र लोकतान्त्रिक नेपाल निर्माणमा योगदान दिन चाहन्छु। यही उद्देश्यसहित नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (महिला तर्फ) उम्मेदवारी प्रस्तुत गरेकी हुँ।”
थापाको उम्मेदवारी घोषणासँगै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा महिला प्रतिनिधित्व, युवा सहभागिता, प्रवासी नेपालीको अनुभव तथा डायस्पोराको ज्ञान, सीप र पूँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने विषय थप चर्चामा आउने देखिएको छ।
प्रतिक्रिया