काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोग लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले उनीहरूको बयान तथा थुनछेक बहसपछि बुधबार यस्तो आदेश दिएको हो।
यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई दोस्रो मुद्दाको सम्बन्धमा आज अदालतमा उपस्थित गराइएको थियो।
पूर्वअर्थमन्त्री विष्णु पौडेलसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा अदालतले पौडेललाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। तर भट्ट र अग्रवाललाई भने पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।
अदालतको आदेशसँगै भट्ट र अग्रवालले दोस्रो मुद्दामा पनि थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भएको छ।
प्रतिक्रिया