बुढानीलकण्ठमा एकीकृत खानेपानी बोर्ड गठन, जलस्रोत संरक्षणदेखि वितरण प्रणाली सुधारसम्म प्राथमिकता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०८३, बिहीबार ०६:२०

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले नगरभित्रको खानेपानी व्यवस्थापनलाई एकीकृत, दिगो र व्यवस्थित बनाउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका एकीकृत खानेपानी बोर्ड गठन गरेको छ।

नगरपालिकाका प्रथम नगर प्रमुख उद्धवप्रसाद खरेलको अध्यक्षतामा गठित बोर्डमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, खानेपानी तथा जलस्रोत क्षेत्रका विज्ञ र सरोकारवालालाई समेटिएको छ।

शिवपुरी जलाधारसँग जोडिएको बुढानीलकण्ठमा प्राकृतिक मुहान, भूमिगत पानी, वर्षाको पानी तथा परम्परागत कुण्ड, इनार र ढुंगेधारा महत्वपूर्ण जलस्रोतका रूपमा रहेका छन्। बढ्दो शहरीकरणसँगै खानेपानीको माग र चुनौती बढ्दै गएपछि उपलब्ध स्रोतको संरक्षणसँगै दीर्घकालीन व्यवस्थापनमा बोर्डले काम गर्ने जनाइएको छ।

बोर्डका अध्यक्ष उद्धवप्रसाद खरेलले खानेपानीको समस्या तत्कालीन रूपमा समाधान गर्नेभन्दा पनि स्रोतको संरक्षण र भावी पुस्तालाई समेत पुग्ने गरी दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

खरेलका अनुसार बुढानीलकण्ठमा रहेका प्राकृतिक तथा परम्परागत जलस्रोतलाई संरक्षण गर्दै त्यसको वैज्ञानिक र व्यवस्थित उपयोग गर्न आवश्यक छ। उनले नगरमा खानेपानीको समस्या समाधानका लागि राजनीतिक दल, विज्ञ, स्थानीयवासी तथा सरोकारवाला सबैलाई एउटै ठाउँमा ल्याएर साझा योजना बनाउन बोर्ड गठन गरिएको बताए।

उनले भने, “खानेपानी केवल आजको आवश्यकता पूरा गर्ने विषय होइन, यो भावी पुस्तासँग जोडिएको विषय हो। भएका मुहान, ढुंगेधारा, कुण्ड र इनारको संरक्षणसँगै नयाँ स्रोतको खोजी र पानीको पुनर्भरणमा पनि ध्यान दिनुपर्छ।”

बोर्डले नगरभित्रका जलस्रोतको अवस्था पहिचान गरी संरक्षण, भण्डारण तथा वितरण प्रणालीलाई व्यवस्थित गर्ने योजना अघि सारेको छ। त्यसका लागि रिचार्ज प्रणाली विकास, पोखरी निर्माण, वर्षाको पानी संकलन, डिप बोरिङको सम्भाव्यता अध्ययन तथा प्राकृतिक जलस्रोत संरक्षणलाई प्राथमिकतामा राखिने भएको छ।

त्यसैगरी, नगरभित्र रहेका विभिन्न खानेपानी आयोजनाबीच समन्वय गरी आवश्यकताअनुसार भण्डारण क्षमता वृद्धि गर्ने र उपभोक्तालाई सहज तथा भरपर्दो रूपमा पानी उपलब्ध गराउने लक्ष्य लिइएको छ।

बुढानीलकण्ठमा तीव्र रूपमा भइरहेको शहरीकरणका कारण प्राकृतिक पानीका स्रोतमा दबाब बढ्दै गएको अवस्थामा भूमिगत पानीको पुनर्भरण तथा वर्षाको पानी संकलनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता समेत औँल्याइएको छ।

खरेलले बोर्डलाई कुनै एउटा राजनीतिक समूह वा व्यक्तिको पहलका रूपमा नभई नगरवासीको साझा सरोकारको संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका अनुसार स्रोत संरक्षणदेखि पानीको उत्पादन, भण्डारण र वितरणसम्मको सम्पूर्ण प्रणालीलाई एकीकृत ढंगले अघि बढाउन सके बुढानीलकण्ठको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिनेछ।

जलस्रोत संरक्षण, पानीको पुनर्भरण, नयाँ स्रोतको खोजी र व्यवस्थित वितरण प्रणाली विकास गर्ने उद्देश्यसहित गठन गरिएको एकीकृत खानेपानी बोर्डलाई बुढानीलकण्ठको दीर्घकालीन खानेपानी व्यवस्थापनमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor