गोकर्णेश्वर नगरवासीले ह्याम्स अस्पतालमा १ लाखसम्मको उपचारमा सहुलियत पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ श्रावण २०८३, सोमबार ०६:३४

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र धुम्बाराहीस्थित ह्याम्स अस्पतालबीच नगरवासीलाई सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै गोकर्णेश्वर नगरपालिकाका बासिन्दाले ह्याम्स अस्पतालमा भर्ना भई उपचार गराउँदा १ लाख रुपैयाँसम्मको उपचारमा सहुलियत पाउने भएका छन्।

सम्झौताले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी शल्यक्रियालगायत विभिन्न उपचारमा सहुलियत प्राप्त हुने भएकाले यसबाट नगरवासीको स्वास्थ्य उपचारमा लाग्ने आर्थिक भार कम हुने जनाइएको छ।

सम्झौता कार्यक्रममा ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले स्वागत मन्तव्य राख्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ह्याम्स अस्पताल सधैं प्रतिबद्ध रहेको बताए। उनले स्वास्थ्य सेवामा उत्कृष्टता कायम गर्न अस्पतालले निरन्तर प्रयास गरिरहेको जानकारी दिए।

कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोला रिजालले स्वास्थ्यसम्बन्धी सम्झौताको महत्त्वमाथि प्रकाश पार्दै नगरवासीको स्वास्थ्य सुरक्षाका लागि गोकर्णेश्वर नगरपालिकाले देखाएको तदारुकताको प्रशंसा गरे।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउने विषयमा नगरपालिकाले कुनै सम्झौता नगर्ने बताए। उनले नगरवासीको सहज उपचारका लागि हालसम्म विभिन्न झण्डै एक दर्जन अस्पतालसँग सम्झौता भइसकेको जानकारी दिए।

नगर प्रमुख रिसालका अनुसार नगरपालिकाले हालसम्म ४२ हजार नगरवासीलाई स्वास्थ्य बीमामा आबद्ध गराइसकेको छ। साथै, नगरपालिकाले १६ रोपनी जग्गामा १५ शय्याको अत्याधुनिक अस्पताल निर्माण गरिरहेको र उक्त अस्पताल अबको केही महिनाभित्रै सम्पन्न हुने उनले जानकारी दिए।

उनले सम्पन्न तथा विपन्न सबै नागरिकलाई समान रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको प्रतिबद्धता रहेको बताए। नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै उपचारमा सहज पहुँच सुनिश्चित गर्न नगरपालिका निरन्तर काम गरिरहेको उनको भनाइ थियो।

ह्याम्स अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले सम्झौताअनुसार नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नगरवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न अस्पतालले आवश्यक सहकार्य गर्ने बताए।

उनका अनुसार स्थानीय तह र स्वास्थ्य संस्थाबीच हुने यस्ता सहकार्यले आम नागरिकलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर सिर्जना गर्नुका साथै स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा, वरिष्ठ चिकित्सक डा. भगवान कोइराला लगायत ह्याम्स अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

नगरपालिका र अस्पतालबीच भएको सम्झौताले गोकर्णेश्वरका नगरवासीलाई उपचारका क्रममा आर्थिक सहुलियत प्रदान गर्नुका साथै स्थानीय तह र निजी स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor