काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको पछिल्लो आदेशका विषयमा टिप्पणी गर्दै आफूहरू अदालतमा ‘शानका साथ डिफेन्स’ गर्ने बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अदालतप्रति विश्वास गर्नुपर्ने बताएका हुन्। उनले हिजो निर्वाचन आयोग र अदालतकै एउटा इजलासले सही ठहर गरेको विषय भोलि पनि सही नै हुने दाबी गरे।
थापाले आफूहरू अदालत नगएको तर केही नेताहरू चित्त नबुझेपछि अदालत पुगेको बताए। उनले निर्वाचन आयोगले गरेको निर्णय यथावत् रहेको उल्लेख गर्दै त्यसबारे छलफलका लागि आफूहरू अदालतमा दृढतापूर्वक प्रस्तुत हुने बताए।
उनले भने, ‘हामी अदालत गएका होइनौं, चित्त नबुझेर केही साथीहरू अदालत जानुभयो। एकपल्ट फेरि निर्वाचन आयोगले गरेको निर्णय त्यहीँ छ। त्यसमा छलफल होस् भन्ने चाहनुभएकाले हामी शानका साथ अदालत जाने, शानका साथ डिफेन्स गर्ने हो।’
सभापति थापाले आफू पार्टी विधानभन्दा बाहिर नजाने स्पष्ट गर्दै कसैले दबाब वा डर देखाएर आफू नतर्सिने बताए। उनले विशेष महाधिवेशनमा सबैको समान सहभागिता सुनिश्चित हुने गरी आफूले पहल गरिरहेको पनि बताए।
उनका अनुसार कांग्रेसले एकातर्फ पार्टीको महाधिवेशनको तयारी अघि बढाउने र अर्कोतर्फ आवश्यक कानुनी लडाइँसमेत लड्नेछ।
थापाले पार्टीविरुद्ध भइरहेका सबै प्रकारका ‘घेराबन्दी’ को सामना गर्दै पार्टीलाई विधि र विधानअनुसार अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रतिक्रिया