काठमाडौं । सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीच करिब ४५ मिनेट भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहलाई भेट्न लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए। स्रोतका अनुसार भेटमा पछिल्लो राजनीतिक परिस्थिति, सरकारका आगामी कदम, राजनीतिक नियुक्ति तथा रास्वपाका अपेक्षालगायत विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री शाहले पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको आशयका अभिव्यक्ति दिएपछि रास्वपा नेतृत्व असन्तुष्ट रहेको बताइएको छ। भेटमा प्रधानमन्त्रीका त्यस्ता अभिव्यक्ति र त्यसबाट उत्पन्न परिस्थितिबारे समेत छलफल भएको स्रोतको भनाइ छ।
त्यस्तै, प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण र लामिछानेको आगामी चीन भ्रमणका विषयमा पनि दुई नेताबीच कुराकानी भएको बताइएको छ। राजदूत छनोट, उच्च तहमा हुन सक्ने सम्भावित राजनीतिक नियुक्ति तथा मन्त्रीहरूको भूमिकालगायत विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाह र लामिछानेबीच सम्बन्धमा गम्भीर दरार उत्पन्न भएको भन्ने चर्चालाई बालुवाटार स्रोतले अस्वीकार गरेको छ।
स्रोतले भन्यो, ‘दुई नेताबीच एकदमै दरार उत्पन्न भएजस्तो गरेर बुझिएको छ, त्यस्तो केही होइन। यसलाई नियमित छलफल मान्न सकिन्छ।’
लामिछाने पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समेत साथमा लिएर बालुवाटार पुगेको चर्चा भए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
प्रधानमन्त्री शाह बनेपछि लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन्। शाहले बालुवाटारमा अनौपचारिक जमघट तथा पारिवारिक भेटघाटबाहेक अन्य भेटवार्ता कमै गर्ने गरेको बताइन्छ।
प्रतिक्रिया