तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिकाले इरानका सबै सर्त स्वीकार नगरेसम्म विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण हर्मुज जलडमरूमध्य पुनः नखोल्ने चेतावनी दिएको छ।
आईआरजीसीले आइतबार जारी गरेको वक्तव्यमा युद्धबाट भएको क्षतिको क्षतिपूर्तिसहित इरानले अघि सारेका माग पूरा नभएसम्म जलडमरूमध्य बन्द रहने जनाएको हो। इरानी पक्षले अहिले हर्मुजलाई सामान्य जलमार्गका रूपमा मात्र नभई युद्धको मैदानका रूपमा हेरेको जनाएको छ।
इरानले हर्मुज जलडमरूमध्यमार्फत हुने व्यापारिक आवागमनमा नियन्त्रण कडा बनाउँदै आएको छ। जलमार्ग हुँदै अघि बढ्न खोज्ने जहाजहरूलाई रोक्ने तथा केही जहाजमाथि आक्रमणसमेत भइरहेका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा थप दबाब बढेको छ।
इरानले जलमार्ग पुनः सञ्चालनका लागि अमेरिकाले सैन्य कारबाही अन्त्य गर्नुपर्ने, इरानमाथिका प्रतिबन्ध हटाउनुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता गर्नुपर्ने तथा युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने लगायतका माग अघि सारेको छ। इरानका सुरक्षा अधिकारीहरूले उसका क्षेत्रीय सहयोगीहरूविरुद्धको सैन्य कारबाही अन्त्य गर्नुपर्ने मागसमेत गरेका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग हर्मुजको यातायात तथा व्यवस्थापनसम्बन्धी छलफल अन्तिम चरणमा पुगेको बताएका छन्। तर जलमार्ग पुनः खोल्ने विषय अन्य सर्त तथा युद्धबाट भएको क्षतिको क्षतिपूर्तिसम्बन्धी सहमतिमा निर्भर रहने उनले स्पष्ट पारेका छन्। इरान र अमेरिकाबीच प्रत्यक्ष वार्ता भइरहेको भन्ने दाबीलाई उनले अस्वीकार गर्दै मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको बताएका छन्।
हर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजको आवागमन उल्लेख्य रूपमा घटेको छ। पछिल्ला दिनमा जलमार्गमा जहाज सुरक्षासम्बन्धी घटनासमेत भएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) ले शनिबार अबु धाबी राष्ट्रिय तेल कम्पनी (एडनोक) सँग सम्बन्धित एक ट्याङ्करमाथि हर्मुज जलडमरूमध्यमा इरानी मिसाइल प्रहार भएको आरोप लगाउँदै घटनाको निन्दा गरेको थियो। घटनामा मानवीय क्षति नभएको जनाइएको छ।
यस्तै, बेलायतको युके मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) ले ओमाननजिकै हर्मुज क्षेत्रमा अर्को जहाजमा प्रक्षेपास्त्र प्रहार भएर आगलागी भएको जानकारी दिएको छ। आगो नियन्त्रणमा लिइएपछि कुनै मानवीय क्षति नभएको बताइएको छ।
हर्मुज जलडमरूमध्य विश्वका प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक भएकाले यसको लामो समयसम्मको अवरोधले तेल तथा ग्यासको अन्तर्राष्ट्रिय आपूर्ति, ढुवानी लागत र विश्व बजारमा थप दबाब सिर्जना गर्न सक्ने चिन्ता बढेको छ।
प्रतिक्रिया