मालपोत कर्मचारी र भूमाफियाको मिलेमतोमा ११ कट्ठा जग्गा हिनामिना, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०८३, शुक्रबार ०६:२३

काठमाडौं। मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको मिलेमतोमा वास्तविक जग्गाधनीलाई जानकारी नै नदिई अर्कै व्यक्तिको नाममा जग्गा दर्ता तथा बिक्री गरेको आरोपमा सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सर्लाहीको साबिक बलवा सोकनाहा गाविस वडा नं. २ (ख) स्थित कित्ता नं. ६२ को ११ कट्ठा दुई धुर जग्गा फर्जी जग्गाधनी पुर्जा तयार गरी अर्कै व्यक्तिको नाममा दर्ता गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

मुद्दा दायर गरिएकामा सर्लाहीको भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला, खरिदार राजेशकुमार झा, ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडासचिव रामगुलामराय यादव, तत्कालीन वडाध्यक्ष कपिलदेव चौधरी तथा जग्गा प्राप्त गर्ने किशोरी धामी थारू र सिफारिस तथा निवेदन दिने भोला धामी थारू रहेका छन्।

अख्तियारका अनुसार उक्त जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको थियो। तर, उनीहरूको हकभोगमा रहेको जग्गालाई कुनै समयमा हकभोग नै नभएका किशोरी थारू र भोला थारूको नाममा रहेको देखाउने गरी मालपोत कार्यालयका कागजात तथा विवरण सच्याइएको आरोप छ।

जग्गा दर्ता गर्ने प्रयोजनका लागि हुँदै नभएको तथ्य खडा गरी एउटा व्यक्तिको नाममा रहेको जग्गा अर्कै व्यक्तिको नाममा कायम गरिएको र सोही आधारमा स्रेस्ता तथा जग्गाधनी पुर्जासमेत तयार पारिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित कर्मचारीले आपसी मिलेमतोमा गैरकानुनी लाभ लिने उद्देश्यले गलत व्यक्तिको नाममा जग्गा दाखिल खारेज गरी गलत लिखत तयार गरेको अख्तियारको दाबी छ।

सरकारी निकायका कागजात अनधिकृत रूपमा हेरफेर तथा थपघट गरी जग्गा अर्कै व्यक्तिको नाममा दर्ता गराएको आरोपमा अख्तियारले सातै जनाविरुद्ध भ्रष्टाचार मुद्दा अघि बढाएको हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor